सकियो प्रवासी नेपाली मञ्चको सेफ नेपाल भिजिट नेपाल कार्यक्रम, मेलबर्नमा अन्तिम शो
प्रवासी नेपाली मञ्च र नेप्लीज फेष्टिभल प्रा.लि. काठमाडौंको आयोजनामा मेलबर्नमा सेफ नेपाल भिजिट नेपाल कार्यक्रम सम्पन्न भएको छ । मेलबर्नको ईस्टोनियन हाउसमा आयोजना गरिएको कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, बद्री पंगेनी, गायिका मिलन अमात्य र प्रिती आलेले आफ्ना प्रस्तुतिले उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । सांगीतिक कार्यक्रमअघिको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल हुनुहुन्थ्यो भने पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र अष्ट्रेलियाका फेडरल एमपी पिटर खलिली, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोताने, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल लगायत अन्य सामूदायिक संघ संस्थाका प्रतिनिधि अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत गर्दै नेप्लीज फेष्टिभल प्रा.लि.का सचिव रविन्द्रपुरुष ढकालले अष्ट्रेलियाका विभिन्न शहरमा नेपालीहरुको माझमा, राजनीतिक तहमा र जनस्तरमा समेत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यमा सफल भएको बताएका थिए । उनले भूकम्पले थिलथिलो बनेको नेपाली अर्थतन्त्रलाई अलिकति मात्र भएपनि टेवा दिने उद्देश्यले कार्यक्रमको योजना बनेको बताए । यसैगरी भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले नेपाली पर्यटन प्रबद्र्धनका लागि आयोजना गरिएको कार्यक्रमको सफलताको कामना गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै एमाले महासचिव ईश्वर पोखरेलले नेपाल सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सके यसले भूकम्पबाट क्षति पुगेको पर्यटनलाई टेवा पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नै समयदेखि एनआरएनलाई लुम्बिनीको कार्यक्रममा साझेदार बनाएको भन्दै विश्वका विभिन्न देशमा रहेका एनआरएनले नेपाल बुद्धको जन्मभूमि हो भनेर प्रचार गर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले लुम्बिनीसहित सांस्कृतिक सम्पदाहरु, प्राकृतिक धरोहरहरु विश्व समूदायको लागि आकर्षणको केन्द्र हुने भन्दै यिनको प्रबद्र्धनमा सबैको साथ र एकताबद्ध प्रयास आवश्यक भएको धारणा पनि राख्नुभयो । सोही अवसरमा बोल्दै अतिथि संघीय संसद सदस्य पिटर खलिलिले नेपाल जान आफु ईच्छुक रहेको र अष्ट्रेलियामा बस्ने अन्य सबैलाई प्रोत्साहित गर्नका निम्ति यस किसिमको कार्यक्रमले मद्दत गर्ने बताउनुभयो । उहाँले नेपाली समूदायले गर्ने सबै किसिमका कार्यक्रममा आफ्नो समर्थन र साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुका साथै स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति दिएका थिए । केही ढिलो गरी सुरु भएको कार्यक्रम राति अबेरसम्म चलेको थियो । लोक दोहोरी भाका र हाँस्य कलाकार जितु नेपालको प्रस्तुतिका साथै गायिका मिलन अमात्यका हिट नम्बरमा उपस्थित दर्शक रमाएका थिए । कार्यक्रमको अन्त्यमा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका उपाध्यक्ष राम रानाभाटले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।