प्रहरी चौकीमा युवाको आक्रमण, ठूलो संख्यामा हतियार लुटियो


hatiyar_lutiyo_fileसुर्खेतको काफलकोटका युवाले स्थानीय आग्रीगाउँ प्रहरी चौकीमा आक्रमण गरी हतियार लुटेका छन् । एक जना प्रहरी जवानसँग भएको विवादका क्रममा स्थानीय युवाले प्रहरी चौकीमै आक्रमण गरी प्रहरीसँग भएका हतियार लुटेका हुन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकोे छ ।

मंगलबार साँझ ५ बजे देउली बजारमा प्रहरी जवान नरबहादुर बिक र गाउँका युवाबीच केटीको विषयमा विवाद भएको स्थानीयले बताएका छन् । विवादपछि करिब ६ बजेतिर विवाद गर्ने व्यक्तिले ठूलो समूह बनाएर प्रहरी चौकीमाथि धावा बोलेको र चौकीमा भएका हतियार लुटेको बताइएको छ । स्थानीय युवाले आक्रमण गरेका बेला चौकीमा प्रहरी सहायक निरीक्षक मनोज आलेको कमाण्डमा चार जना प्रहरीमात्र थिए ।

मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी माधव नेपालले आक्रमणकारी समूहले दुई थान थ्री नट थ्री राइफल, एक थान चाइनिज पेस्तोल र दुई सय राउण्ड गोली लुटेको बताए । लुटिएकामध्ये ८ राउण्ड पेस्तोलको गोलीबाहेक सबै हतियार बरामद गरिसकिएको छ । ‘जाँडरक्सी खाएको आवेगमा एकजना प्रहरीसँग भएको विवादमा ठूलै समूह गएर चौकीमाथि धावा बोल्यो,’ डिआइजी नेपालले भने, ‘आक्रमणकारीको पहिचान भइसकेको छ, उनीहरुमाथि कडा कारबाही हुन्छ ।’

घटनालगत्तै सुर्खेतबाट जिल्ला प्रहरी प्रमुखको कमाण्डमा छिमेकी प्रहरीचौकी र सीमावर्ती जाजरकोटका प्रहरी चौकीबाटसमेत प्रहरी परिचालन गरी खोज तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले काफलकोट–५, तिमिलसिनीका दिलिप सिंह, रविन्द्र सिंह, कुबेर सिंहलगायत ११ जनाको समूहले आक्रमण गरेको जनाएको छ । पक्राउ पर्नेमा तीलक सिंह, केशव सिंह, प्रेम खत्री र तीर्थबहादुर खत्रीलगायत ६ जना छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?