नयाँ ईतिहास कायम गर्दै सकियो ब्रिसबेनको नेपाल महोत्सव, नेपालका राष्ट्रिय कलाकारसँगै झुमे दर्शक
प्रत्येक दुइ बर्षमा अस्ट्रेलियाका भिन्न शहरहरुमा आयोजना गरिने नेपाल महोत्सव अन्तर्गत यस पटकको नेपाल फेस्टिभलको पहिलो शृंखला १२ नोभेम्बरका दिन ब्रिस्बनबाट सुरु भइ ठूलो संख्यामादर्शकको उपस्थित बिच सफलताका साथ सम्पन्न भएको छ । नेपालीबीच उत्सवको माहोल बनाउने, आपसी एकता अभिबृद्धि गर्ने र नेपाली पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले फेस्टिभलको एक दिन अगावै परेडबाट सुरु भएर फेस्टिभलको दिन बिहान नेपालको पर्यटन सम्बन्धि कार्यशाला पश्चात नेपाल फेस्टिभल ब्रिस्बनको औपचारिक कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रमको प्रमुख अथिति क्वीन्सल्याण्डकी बहुसांस्कृतिक मन्त्री ग्रेस ग्रेस र एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले पानशमा बत्ति बालेर संयुक्त रुपमा महोत्सवको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गान संगै उपस्थित सबैलाई एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबम नेपाल फेस्टिभल ब्रिस्बनका संयोजक अभिमान सिंह बस्नेतले स्वागत अभिनन्दन गर्नु भएको थियो। आफ्नो स्वागत मन्तब्यमा बस्नेतले नेपाल सबै दृष्टिकोणले पर्यटकको लागि एकदमै सुरक्षित स्थल भई सककोले सबै बिदेशी साथी भाईहरुलाई नेपाल घुम्न जान आग्रह गर्नुभयो । उद्घाटन सत्रमा उपस्थितहरुलाई स्वागत गर्ने सिलसिला अन्तर्गत नै नेपाली कला संस्कृति झल्कने लाखे नाच, झांक्री नाच बिभिन्न भेष भुषा झल्कने झाँकी र परेडहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सुरु मै प्रमुख अथिति सांसद ग्रेसले ब्रिसबेनमा सम्पन्न हुदै गरेको यस तेश्रो नेपाल मोहोत्सबले बहुसांस्कृतिक अस्ट्रेलियामा नेपालीहरुको सुखद उपस्थितिको संदेश दिदै आएको बताउनुभयो । कला र संस्कृतिमा धनी नेपालीहरुलाई नजिकबाट चिन्न र जान्न यो महोत्सवले सहयोग गर्ने पनि उहाँको भनाई थियो ।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले उदाहरणीय यस फेस्टिभलको आयोजना गर्ने बिबिध किसिमबाट सहयोग गर्ने सबैलाई धन्यबाद दिदै एनआरएनए अस्ट्रेलिया र कुइन्स्लनड स्टेट कमिटिले नेपाली दुताबास र नेपाली समुदायका संघ(संस्थाहरु सँगको सहकार्यमा यति भब्य र ब्यबस्थित कार्यक्रम गर्न सफल भएकोमा बधाई दिनु भएको थियो । अस्ट्रेलियाको बहुसंकृतिक समुदायमा २ बर्षमा आयोजना हुदै आएको यस फेस्टिभल आफैमा बहुसांस्कृतिक अस्ट्रेलियाको लागि समेत गर्ब गर्न लायक बनेका कारण यस्ता खालका महोत्सबहरुमा नेपालबाट नेपाल सरकार, पर्यटन बोर्ड र यहाँको राज्य सरकार, बहुसांस्कृतिक क्षेत्र हेर्ने निकायले सहयोग गर्न सके कार्यक्रम झन् सफल हुने र आयोजकलाई सहज हुने बताउनु भयो । उपस्थित बिदेशी पाहुनाहरु लाई घलेले आजको फेस्टिभलमा रहेका नेपाली बिबिध खानाका परिकारहरु को स्वाद लिन र हाम्रो कला संस्कृति एकै थलोमा हेर्न पाइने यो अवसरको पुरा सदुपयोग गर्न अनुरोध गर्नुभयो ।
नेपाली दुताबासको तर्फबाट डिल्ली राम शर्माले एनआरएनएसँग सम्भब हुने सबै क्षेत्रमा नेपाली दुताबास सहकार्य गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा अस्ट्रेलियाकी सबै भन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने अलयस्सा अजरलाई सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा नेपलिज एसोसिएसन अफ क्वीन्स्ल्यान्डका अध्यक्ष गोबिन्द बराल, ब्रिसबेन सिटि काउन्सिलको मेयर भिक्की होवार्ड, इप्स्विच सिटि काउन्सिलको मेयर पउल पिसासाले, क्वीन्स्ल्यान्ड मल्टिकल्चरको सदस्य गिटीइ हाउस लगायतका अथिति बक्ताहरुले कार्यक्रमको सफलताको कामना गरेका थिए ।
एनआरएनए दोश्रो पुस्ताकी सदस्य कृति आलेले सञ्चालन गरेको औपचारिक कार्यक्रमको अन्त्यमा एनआरएनएका अध्यक्ष सुरेन्द्र सिग्देलले कार्यक्रम सफल पार्न दिन रात खट्ने क्वीन्सल्याड स्टेट कमिटिका सबै साथीहरुको प्रसंशा गर्दै, कार्यक्रममा सहयोग गर्ने सबै ब्यापारी र समुदायका सबै सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो । साथै कार्यक्रममा उपस्थित भइ कार्यक्रमको महत्व पूर्ण हिस्सा बन्नु भएका सबै सहभागी रुलाई समेत सिग्देलले आभार व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्डका न्यूसाउथवेल्स प्रतिनिधि बद्री अर्याल, क्वीन्सल्याड प्रतिनिधि स्वतन्त्रप्रताप शाह पनि पर्यटन प्रबद्र्धनको निम्ति आयोजित नेपाल महोत्सवको कार्यक्रमस्थलमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सहभागी हुन एनआरउन अष्ट्रेलियाका उपाध्यक्षहरु दिनेश पोखरेल, केशव कँडेल र युवराज खनियाँ साथै सचिव टोनु घोताने, सहसचिव भिष्म भण्डारी, कोषाध्यक्ष डिला खरेल, सदस्यहरु छवि सापकोटा, नन्द गुरुंग, आईसीसी सदस्यहरु केशव सापकोटा, ईश्वर कुईकेल, राजु अधिकारी पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । यसैगरी क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएन आईसीसी प्रवक्ता रञ्जु थापा, युवा संयोजक विजय पोखरेल, संरक्षक ईन्द्रा वन पनि महोत्सव सफल पार्न ब्रिसबेन पुग्नुभएको थियो । एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले ब्रिसबेनले यस पटक ईतिहास कायम गरेको भन्दै सिड्नी र मेलबर्नको महोत्सवमा पनि धेरैभन्दा धेरै नेपालीहरुको सहभागिताको अपेक्षा गरिएको एमएनटीभीसँग कुरा गर्दै बताउनुभयो । रेग्मीले सिड्नीको महोत्सवको तयारी अन्तिम चरणमा पुगेका जानकारी समेत दिनुभयो ।
औपचारिक कार्यक्रमको समापन पछि कार्यक्रम स्थललाई संगीतमय बनाउदै नेपालबाट आएको कन्दरा ब्याण्ड, गायिका अन्जु पन्त, गायक सुगम पोख्रेल लगायत स्थानीयकलाकारहरुले साँझ अबेरसम्म गीत संगीत र नृत्यले मनोरंजन दिएका थिए । ११ वर्षीय आयुष्का खनियाँले आफ्ना दुई हिट गीतले दर्शकहरुको मन जित्न सफल भएकी थिइन् । मनोरञ्जनात्मक कार्यक्रममा गायिका अञ्जु पन्त र गायक सुगम पोखरेलले पनि आफ्ना हिट गीतहरुबाट दर्शकलाई मन्त्रमुग्ध पारेका थिए भने लोक गायिका रमिला न्यौपानेसँगै एनआरएन क्षेत्रीय संयोजक महेन्द्र लम्सालले समेत दोहोरी गाउन तम्सिदा माहोल रोचक बनेको थियो । सबैको प्रतिक्षालाई सम्बोधन गर्दै नेपालको चर्चित व्याण्ड कन्दराले आफ्ना १० भन्दा बढी गीतहरु दर्शकहरुसामू प्रस्तुत गरेको थियो ।
तस्वीरहरु : किरण खनाल/एमएनटीभी (थप तस्वीर र भिडियोका लागि हाम्रो फेसबुक पेज हेर्नुहोला ।)