सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले मकाउसँग खेल्दै, उपाधि जितेर इतिहास रच्ने नेपाली टोलीको लक्ष्य


solidariti-football-cupमलेसियामा जारी एएफ्सी सोलिडारिटी कप फुटबलको उपाधिका लागि मंगलबार नेपालले मकाउसँग खेल्दैछ ।

खेल मंगलबार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुँदैछ । नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै कुनै पनि एसियाली स्तरको प्रतियोगिताको पहिलो पटक फाइनलमा ठाउँ बनाएको हो । त्यसैगरी मकाउले पनि सेमिफाइनलमा बु्रनाइलाई पेनाल्टी सुटआउटमै हराएको थियो ।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले पहिलो प्रतियोगिताको च्याम्पियन बन्न टिम लालायित भएको बताउनुभयो । टिम उच्च मनोवलमा रहेको र खेलाडीहरुमा खासै ठुलो चोटको समस्या नरहेकाले उपाधि नेपालले नै जित्नेमा ढुक्क रहेको कोजीले बताउनुभयो । जित सजिलो नभए पनि मौका भने रहेको कोजीको भनाइ छ ।

मकाउका प्रशिक्षक टम आओ सानले प्रतियोगिताअघि आफूहरुको लक्ष्य सेमिफाइनलसम्म मात्र रहेकाले फाइनल नै ठूलो उपलब्धी भएको बताउँदै यसो भन्दैमा खेल नेपाललाई भने नसुम्पने स्पष्ट पार्नुभयो ।

नेपाल र मकाउले यसअघि एक आपसमा पाँच खेल खेलेका छन् । जसमा नेपालले तीन खेलमा जित हासिल गर्दा एक खेलमा बराबरी गरेको छ भने एक खेलमा हार बेहोरेको छ । नेपालले १५ गोल गर्दा ७ गोलमात्र खाएको छ । जारी प्रतियोगिताको समूह चरणमा नेपालले बु्रनाइलाई ३÷० ले हराउँदा ईष्ट टिमोरसँग गोलरहीत बराबरी खेलेको थियो ।

यता, लाओसले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि भएको भिडन्तमा लाओसले बु्रनाईलाई ३–२ ले पराजित गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?