च्यारिटी फुटबलमा नेपालले जापानलाई १–० ले हरायो, नवयुग श्रेष्ठ बने नायक
नेपाली राष्ट्रिय फुटबल टोलीले फ्रेन्ड्स अफ जापानमाथि जित हात पारेको छ ।
नेपाल र जापानबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फा र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा लतितपुरको एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको च्यारिटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित हात पारेको हो । नेपालको जितमा नवयुग श्रेष्ठले विजयी गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा नवयुगले गोल गरे । बिमल घर्ती मगरको पासमा बिक्रम लामाले प्रहार जापानी गोलरक्षकले बल रोकेका थिए । तर, नियन्त्रणमा लिन सकेनन् र त्यही मौकाको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।
खेलको म्यान अफ द म्याच नेपालका विक्रम लामा घोषित भए ।
केही दिनअघि मलेसियामा एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको नेपाली टिमले जे लिग तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गरेको हो । जापानी टिममा रहेका टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा इङ्लिस क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेलेका हुन् ।