जनसम्पर्क समितिको आयोजनामा संविधानविद् निलाम्बर आचार्यको मेलबर्नमा स्वागत र अन्तरक्रिया
२०४७ सालको संविधानका मस्यौदाकारमध्येका एक एवं पहिलो संविधानसभाको संवैधानिक समितिका सभापति निलाम्बर आचार्यलाई मेलबर्नमा स्वागत गरिएको छ । पारिवारिक कामको सिलसिलामा अष्ट्रेलियाको मेलबर्नमा रहनुभएका उहाँलाई जनसम्पर्क समिति अष्ट्रेलिया र भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालयले संयुक्त रुपमा स्वागत र सम्मान गरेको हो । उक्त अवसरमा नेपालको अहिले संविधान कार्यान्वयनको अवस्था र नेपाल भारत सम्बन्धमा विषयमा अन्तरक्रिया समेत सम्पन्न भयो । उक्त अवसरमा बोल्दै संविधानविद् आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतीय नेताहरुले पनि साथ दिएको र नेपालीले पनि भारतको स्वतन्त्रता संग्राममा सहभागी भएको तर अहिले समय निकै अघि बढिसकेको बताउनुभयो । उहाँले सन् १९५० को सन्धि हुँदाताका नेपालको मन्त्रिपरिषद बैठकमै भारतीय राजदूत बस्ने चलन पनि थियो । तर, अहिले छैन । नेपाल निकै अघि बढिसक्यो । आचार्यको भनाई छ, जतिबेला भारतसँग नेपालको सन्धि भएको थियो त्यतिबेला विश्वका जम्मा चारवटा देशसँग मात्रै नेपालको दौंत्य सम्बन्ध स्थापित थियो अहिले नेपालको सम्बन्ध विश्वका १ सय ४४ देशसँग स्थापित भइसकेको छ । हामीले नेपाल भारत सम्बन्धलाई २१ औं शताब्दी समयानुकूल पुनरावलोकन गर्नुप्र्छ । भारतले हामीसँग अरु कसैलाई मित्र बनायो भन्दैमा रिसाउनुपर्ने छैन । आचार्य नेपाल र भारतकाबीचको सम्बन्ध सुधारका निम्ति सरकारी तवरमै गठित प्रबुद्ध समूहका सदस्य पनि हुनुहुन्छ । सोही अवसरमा बोल्दै उहाँले संविधान परिवर्तनशील दस्तावेज भएकोले यसमा कसैले पनि मैले यो पाइनँ उसले त्यो पायो भन्नुभन्दा यसलाई समय अनुसार सुधार गर्दै लैजानुपर्छ भन्नुभयो । संविधानविद् आचार्यले संविधान सम्झौताको दस्तावेज भएकोले यसमा भएका समानताका र सकारात्मक कुरालाई खोज्नुपर्ने तर्क गर्नुभयो । “विमतिका कुरा खोज्ने हो भने त त्यहाँ सबैका धेरै भेटिन्छन् । काँग्रेसले पनि केही सम्झौता ग¥यो, माओवादीले पनि ग¥यो र एमालेले पनि सम्झौता गरेकै हो । आफुले भनेकै सबै हुनुपर्छ भनेको भए त संविधान बन्नै सक्दैनथ्यो नि । अब यसको कार्यान्वयन यतिबेलाको आवश्यकता हो ।” कम्तिमा संविधान निर्माणपछि निर्वाचनसम्म सबै दलको संयूक्त सरकार बन्नुपर्ने उहाँको तर्क थियो । अन्तरक्रियाका क्रममा यदि आगामी वर्ष माघमा चुनाव हुन सकेन भने के हुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “हो केही मानिसहरु भन्छन्, अहिले नेपालीहरु ठूला ठूला परिवर्तन आफैं गर्न सक्षम छन् भन्ने सन्देश छ । त्यसपछि के हुन्छ ? आकाश खस्छ त ? खस्दैन । केही हुँदैन । तर, विश्वभर नेपालीहरु विश्वास गर्न योग्य छैनन् । उनीहरुसँग निर्णय क्षमता छैन भन्ने सन्देश जान्छ ।”
कार्यक्रमको अध्यक्षता जनसम्पर्क समिति अष्ट्रेलिया भिक्टोरियाका अध्यक्ष सुरेश पोखरेलले गर्नुभएको थियो भने भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले खादा लगाएर संविधानविद् आचार्यको स्वागत गर्नुभयो । स्वागत मन्तव्य दिँदै चितवन समाजका अध्यक्ष सोमप्रसाद गुरुङले एकताबद्ध समाज निर्माणको लागि भिक्टोरियावासी सक्रिय हुनुपर्ने धारणा राख्नुभएको थियो । उक्त क्रममा आयोजना गरिएको अन्तरक्रियामा नेपाली समूदायका अगुवा बम योञ्जन, प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने, जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्की, भिक्टोरिया संयोजक गौतम लामिछाने, वीपी चिन्तन प्रतिष्ठानका अष्ट्रेलिया संयोजक दुर्गा आचार्य, जनसम्पर्क समितिका नारायण काफ्ले, देवेन्द्र बस्नेत, एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोताने, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल, एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेल, सचिव माधव पौडेल, भिक्टोरियाका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि चिरञ्जीवी देवकोटा लगायत समाजका अग्रजहरुले नेपालको संविधान कार्यान्वयनको अवस्था र नेपाल भारत सम्बन्धका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रमका थप तस्वीरको लागि हाम्रो फेसबकु पेजमा जानुहोला ।