नयाको तेश्रो स्थापना दिवस मनाइयो, क्रिकेटर सन्दिप लामिछानेको बिदाई
नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाले आफ्नो स्थापनाको तेश्रो वार्षिकोत्सव मनाएको छ । यस अवसरमा संस्थाले अष्ट्रेलियाको सिड्नीमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना साटासाट गरेको छ । सिड्नीको एसफिल्ड पार्कमा आयोजना गरिएको नयाको तेश्रो वर्षप्रवेशको अवसरमा गरिएको कार्यक्रममा एनआरएनका उपाध्यक्ष कुमार पन्तलाई स्वागत सम्मान गरिएको थियो भने सोही कार्यक्रममा नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई बिदाई सम्मान गरियो । करिब दुई महिनाभन्दा बढीको प्रशिक्षण सकेर सन्दिप मंगलबार नेपाल फर्कदैछन् भने कुमार पन्त एनआरएन अष्ट्रेलियाको निमन्त्रणामा नेपाल महोत्सवमा सहभागी हुन यतिबेला अष्ट्रेलियामा छन् । कार्यक्रममा बोल्दै नयाका अध्यक्ष कोमल पाठकले युवाहरुलाई विभिन्न विकृतिमा फस्नबाट रोक्न र खेलको माध्यमबाट एकताबद्ध बनाउन स्थापना गरिएको संस्थाले विभिन्न परोपकारी परियोजना समेत सञ्चालन गरेको जानकारी दिएका थिए । उक्त अवसरमा एनआरएन अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष दिनेश पोखरेल, एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, एनआरएनका प्रवक्ता रञ्जु वाग्ले, संरक्षक ईन्द्रा वन लगायतले युवालाई समेट्ने संस्थाको उद्देश्यमा थप सफलता मिलोस् भन्ने कामना गरेका थिए । नयाले क्रिकेट, बास्केटबल र भलिबलका विभिन्न प्रतियोगिता सञ्चालन गरिरहेको छ । चालु रहेका परियोजनाका बारेमा उक्त अवसरमा जानकारी गराइएको थियो । सन् २०१४ मा नेपाल महोत्सव सम्पन्न भएको भोलिपल्ट एशफिल्ड पार्कमै संस्थाको शुभारम्भ गरिएको थियो । उक्त अवसरमा बोल्दै क्रिकेटर सन्दिप लामिछानेले सिड्नीमा आफुले पाएको आतिथ्य र मायाबाट नेपालमै रहेको जस्तो महसूस भएको प्रतिक्रिया दिएका थिए । अष्ट्रेलियन क्रिकेटका पूर्वकप्तान माईकल क्लार्कको निमन्त्रणामा प्रशिक्षणका लागि उनी अष्ट्रेलिया आएका हुन् । प्रशिक्षणका क्रममा सिकेको नयाँ शिप आगामी प्रतियोगिताहरुमा प्रयोग गर्ने उनले बताए ।