तीन करोड रुपैयाँ बराबरको कोकिनसहित दुई मलेसियाली पक्राउ, ब्राजिलबाट काठमाडौं ल्याइएको खुलासा
डेढ किलो अवैध लागू औषध कोकिनसहित दुई जना मलेसियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्यूरोको टोलीले मलेसियाली नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध डेढ किलो कोकिनसहित काठमाडौंको चाक्सीबारीस्थित एक होटलबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले सो कोकिन ब्राजिलबाट युएई हुँदै काठमाडौं ल्याइएको खुल्न आएको बताउनुभयो ।
काठमाडौंबाट सो कोकिन हङकङ पठाउने र त्यहाँ ‘म्याक्स’ नामका व्यक्तिले सो कोकिन लिने तयारी रहेको प्रहरीले जनाएको छ । जोसेफले सो कोकिन ल्याएर काठमाडौंमा राजनलाई दिन लागेको अवस्थामा ब्युरोले पक्राउ गरेको हो । भारतीय मुलकी जोसेफले कोकिन नेपाल ल्याएबापत खर्चबाहेकको पाँच सय डलर पाउने प्रलोभनमा सो कार्य गरेको प्रहरीलाई बयान दिएकी छन् ।
त्यस्तै राजनले सो कोकिन हङकङ पु¥याएबापत दुई हजार मलेसियन रिंगेट अर्थात ५६ हजार रुपैयाँ पाउने प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम म्यादथप गरी अनुसन्धान भइरहेको छ । बरामद कोकिनको अनुमानित बजार मूल्य तीन करोड रहेको छ ।