क्रिसमसमा मेलबर्नको फेडरेशन स्क्वायरमा बिस्फोट गराउन खोज्ने ७ पक्राउ
भिक्टोरिया प्रहरीले क्रिसमसको दिन मेलबर्नका केही मुख्य ठाउँमा आतंकवादी आक्रमण निस्तेज पारेको बताएको छ । मेलबर्नको उत्तरपश्चिमी क्षेत्रमा छापा मारेर प्रहरीले यस्तो योजना बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । तिमध्ये ५ जना यतिबेला हिरासतमा रहेको जानकारी भिक्टोरिया प्रहरीका चिफ कमिश्नर ग्राहम एस्टोनले दिएका छन् । यस्तो आक्रमण फेडरेसन स्क्वायर, फ्लीन्डर्स स्ट्रीट स्टेशन र सेन्ट पल्स क्याथेड्रलमा गर्ने योजना भएको प्रहरी दावी छ । बिस्फोटक पदार्थको प्रयोग गरी आतंक फैलाउने योजनालाई निस्तेज पारिएको प्रहरीको भनाई छ । प्रतिआतंकवाद युनिटका प्रहरीले यतिबेला पक्राउ परेका व्यक्तिहरुलाई सोधपुछ गरिरहेका छन् र शुक्रबार अबेर यिनलाई अदालतमा उपस्थित गराउने अपेक्षा छ । पक्राउ परेकाहरु अष्ट्रेलियामै जन्मेका र २० वर्ष उमेर समूहका भएको र तिमध्ये एकजना ईजिप्टमा जन्मिएका व्यक्ति भएको प्रहरीले जनाएको छ । केही लेबननी पृष्ठभूमिका रहेको बताउँदै कमिश्नर एस्टोनले भने, “प्रहरीले फ्लेमिंगटन, मिडो हाईट, डलास, क्याम्पवेलफिल्ड र ग्लाडस्टोन पार्कमा गएराति छापा मारेको थियो । यी मानिसहरु केही दिनदेखि प्रहरीको निगरानीमा पनि थिए ।”
प्रहरीका अनुसार यी व्यक्तिहरु ईस्लामिक स्टेटबाट प्रेरित हुन सक्ने अनुमान छ । बिस्फोटक पदार्थका साथै यिनीहरुले बन्दुक र अन्य हतियारबाट समेत आक्रमण गर्ने योजना बनाएको प्रहरीले भनेको छ । पक्राउ परेकाहरुको साथबाट बिस्फोटक पदार्थ बरामद भएको छ । प्रहरीले क्रिसमसको दिन मेलबर्नका विभिन्न ठाउँमा आक्रमण गर्ने योजनालाई विफल तुल्याएको र ढुक्कसँग क्रिसमस र नयाँ वर्षउत्सव मनाउन पनि आग्रह गरेको छ ।