विमानस्थलका कर्मचारीको मिलेमतोमा नेपाल ल्याइएको १५ करोडको साढे ३३ किलो सुनहित तीन जना पक्राउ 


युनाईटेड अरब ईमिरेट्स युएईबाट नेपाल आएका एक युवकको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले गोपालबहादुर शाहीको साथबाट उक्त परिमाणको सुन बरामद गरेका हुन् । २ सय ४४ वटा सुनका विस्कुट र १८ वटा सिक्री तथा १९ वटा औंठीको अहिलेको मूल्यमा बजार भाउ १५ करोडभन्दा बढी भएको प्रहरीले जनाएको छ ।
शाहीलाई रिसिभ गर्न विमानस्थल पुगेका दिलबहादुर थापा र सन्तोष काफ्ले पनि पक्राउ परेका छन् । लगेजभित्र प्लाष्टिकले बेरेर ल्याइएको सुन प्रहरीले नियन्त्रणमा लिएको छ । विमानस्थलको सुरक्षा जाँच पार गरिसकेर बाहिर आइसकेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीसँगको प्रारम्भिक बयानमा शाहीले विमानस्थलका प्रहरी र कर्मचारीहरुसँगको मिलेमतोमा नै सुन ल्याउन सफल भएको बताएका छन् । पक्राउ परेका व्यक्ति प्रयोग गरिएको मात्र हुनसक्ने प्रहरीको आंकलन छ । यस विषयको गम्भीर अनुसन्धान गर्ने र सुनको तस्कर गर्नेलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । अहिले काठमाडौंमा सुनको अभाव देखिएको बेला यति ठूलो परिमाणको सुन ल्याउने चुनौती उनीहरुले लिएको देखिएको पनि प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?