मेलमिलाप दिवसमा प्रदिप गिरीले सम्झाए ४० वर्षअघिको क्षण


काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउने गर्दछ । तत्कालीन समयमा निर्वासनमा रहेका वीपी कोइराला बरु राजासँगै अहिंसात्मक तवरमा लड्छु तर विदेशमा बस्दिन भनेर मेलमिलापको नारा दिँदै स्वदेश फर्किएको दिनको स्मरणमा यो दिवस नेपाली काँग्रेससँग निकट रहेकाहरुले मनाउने गर्दछन् । यस पटकको सिड्नीको मेलमिलाप दिवस अलि भिन्न रह्यो । नेपाली काँग्रेसमा बौद्धिक व्यक्तित्व र विचारकको रुपमा कहलिएका प्रदिप गिरीकै मुखबाट तत्कालीन समयको घटनाक्रम सुन्न पाउँदा यहाँका बुद्धिजीवीहरु र युवा पुस्ताले फरक महसूस गरेको हो । कार्यक्रममा गिरीले भने, “जननिर्वाचित सरकारलाई २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले अपदस्थ गरी सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि विदेश पलायन हुन बाध्य भएका त्यतिबेलाका प्रधानमन्त्रीले भारतमा रहेर नेपालको प्रजातन्त्रका लागि सहयोग हुन्छ भन्ने सोचेका थिए । तर, भारतमा पनि ईन्दिरा गान्धीले सत्ता हातमा लिँदै संकटकाल लगाएपछि बरु देशभित्रै अहिंसात्मक आन्दोलन गर्छु भन्दै वीपी कोइरालाले फर्कने निर्णय गर्नुभयो । आठ वर्षको निर्वासनपछि ६३ वर्षको उमेरमा नेपाल फर्किएका वीपी कोइरालाले त्यतिबेला लिएको निर्णय दूरदर्शी थियो ।” नेप्लीज अष्ट्रेलियन डेमोक्रेष्टिक फोरमले मेलमिलाप दिवकसो अवसर पारेर सिड्नीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गिरीले उक्त धारणा राख्नुभएको हो ।
नेता गिरीले अगाडि भने, “हाम्रो मुलुकमा पनि वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ आदिको योगदान कसैले विर्सन हुँदैन । स्वतन्त्रताको लागि उहाँहरुले गर्नुभएको योगदान अतुलनीय छ ।” नेपालमा परिवर्तनहरु बारम्बार अपहरणमा पर्ने गरेको नेता गिरीको भनाई थियो । यस्तै उहाँले अबको समय पुरानो पुस्ताको नभई डिला संग्रौला जस्ता युवाहरुको हो भन्नुभयो । त्यसअघि बोल्दै काँग्रेस नेतृ डिला संग्रौलाले वीपीको विचार अहिले पनि निकै सान्दर्भिक रहेको भन्दै अष्ट्रेलियामा रहेका नेपालीहरुबीचको एकता अपरिहार्य रहेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले विदेशमा रहेका नेपालीहरु नेपालको विकासमा योगदान दिन तयार रहेको र यसका लागि सरकारले उचित वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । उक्त कार्यक्रम फोरमका अध्यक्ष विवेक थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । एनआरएन संरक्षक ईन्द्रा वन पनि अतिथिको रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन एनएडीएफका सचिव माधव गैरेले गरेका थिए ।  उक्त अवसरमा सिड्नीमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरु राजनीतिक चिन्तक प्रदिप गिरीको विचार सुन्न र मेलमिलाप दिवस मनाउन स्थानीय एशफिल्ड पार्कमा उपस्थित भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?