न्याभ कप क्रिकेटको फाईनल १२ मार्चमा, बालबालिका र महिलाको पनि छुट्टै क्रिकेट खेल हुने


नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको आयोजनामा मेलबर्नमा जारी न्याभ कप क्रिकेट प्रतियोगिताको फाईनल खेल आगामी मार्च १२ तारिखमा हुने भएको छ । न्याभका उपाध्यक्ष एवं खेल संयोजक तारा गैरेका अनुसार बाह्रौं न्याभ कपको फाईनल खेल १२ तारिखका लागि तय गरिएको हो भने उक्त दिन स्थानीय टीडब्लू ब्लैक पार्क प्रेस्टनमा विहान ९ बजेदेखि खेल सुरु हुनेछ । सुरुमा साना बालबालिकाको खेल गर्ने र त्यसपछि महिलाहरुको छुट्टै क्रिकेट खेलका साथै ३५ वर्षभत्दा माथि उमेर समूहका व्यक्तिहरुको सिनियर क्रिकेट प्रतियोगिता सकाएर फाईनल खेल गर्ने तयारी न्याभले गरेको छ । एक्सपर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको न्याभ कपको बाह्रौं संस्करणको गत आईतबार भएको खेलमा हिमालयन हुरिकेन, सगरमाथा स्टार्स र सगरमाथा रेनेगेड्सले जीत हाँसिल गरेका छन् । हिमालयन हुरिकेनले ईस्टर्न ब्लूजलाई, सगरमाथा स्टार्सले नेपालय राइनोजलाई र सगरमाथा रेनेगेड्सले नरे किंग्सलाई पराजित गरेको हो । आईतबारको खेलमा म्यान अफ द म्याच हिमालय हुरिकेनका रोशन पौडेल, सगरमाथा स्टार्सका भरत तिवारी र सगरमाथा रेनेगेड्सका राजकुमार गुरुंग बन्न सफल भए । खेल संयोजक तारा गैरेले प्रतियोगिताका लिग चरणका खेल र फाईनलमा सहभागी हुनका लागि मेलबर्नवासी नेपालीहरुलाई आग्रह गरेका छन् । गैरेले भने, खेलाडीहरुबीच अनुशासन, एकता र भाईचारा अभिबृद्धि गर्ने उद्देश्यका साथ एक दशकभन्दा बढी समयदेखि सञ्चालित यस प्रतियोगितामा सहभागी भइदिनुभयो भने हाम्रो हौसला बढ्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?