अष्ट्रेलियाको सिड्नीपछि एडिलेडमा ‘नेपाल जाउँ’ भन्ने सन्देशसहितको कार र्याली सम्पन्न
नेपालमा पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले केही नेपाली युवाहरुले अष्ट्रेलियामा थालेको अभियान साउथ अष्ट्रेलियामा समेत विस्तारित भएको छ । २६ फेब्रुअरी आईतबारको दिन एडिलेडको स्थानीय कुरल्टा पार्कमा जम्मा भएका २० भन्दा बढी कारहरु सहभागी भएर र्याली आयोजना गरेका थिए । र्यालीको सुरुवात साउथ अष्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दिपक धमलाले गरेका थिए । साउथ अष्ट्रेलियाको महत्वपूर्ण ठाउँहरुमा करिब दुई घण्टासम्म नेपालको पर्यटन प्रबद्र्धन गर्ने तस्वीर अंकीत भएका गाडीहरु एकसाथ कुदेका थिए । आफ्नो निजी कारमा नेपालका पर्यटकीय स्थलहरुको जानकारी रहेको स्टीकर टाँस्ने अभियानले एडिलेडमा पनि सञ्चालन गरिएको हो । कार्यक्रमका संयोजक छवि सापकोटाले नेपालको पर्यटन प्रबद्र्धन गर्नका लागि आयोजना गरिएको यस अभियानलाई साथ दिनेहरुलाई धन्यवाद दिएका थिए । जय नेपाल नामक संस्थाले यो अभियान अघि बढाएको हो । संस्थाको तर्फबाट कार्यक्रममा सहभागी हुन सिड्नीबाट विष्णु सापकोटा लगायतका युवा एडिलेड आएका थिए । सडकमा एकै पटक २० भन्दा बढी कारहरुको पछिल्तिर नेपालका विभिन्न स्थलहरुको तस्वीर र नेपाल भ्रमण गर्ने सन्देश अंकीत गरेर निस्किदा स्थानीयले चासोपूर्वक हेरेका थिए । अब मेलबर्नमा पनि यस्तै कार्यक्रम गर्ने तयारी रहेको आयोजकहरुले जनाएका छन् ।