धुर्मुस सुन्तलीले बनाउँदै गरेको मुशहर बस्तीका लागि मेलबर्नमा सहयोग सहयाग दिन बार्बिक्यू गरिँदै
भूकम्प पीडितका लागि घर बनाएर समाज सेवाको नयाँ उदाहरण प्रस्तुत गरेको हाँस्य कलाकार जोडी धुर्मुस सुन्तलीले बर्दिबासमा मुशहरहरुको लागि बनाउन लागेको घरका निम्ति आर्थिक सहयोग जुटाउने उद्देश्यले अष्ट्रेलियाको मेलबर्नमा आगामी मार्च २५ तारिखका दिन बार्बिक्यू आयोजना हुने भएको छ । बीएमडब्लू एजुकेशन मेलबर्न, रोमन पिटीई मेलबर्न तथा एभरेष्ट प्रोपर्टिज एण्ड फाईनानसको पहलमा यस्तो बार्बिक्यू कार्यक्रम स्थानीय कोबर्ग पार्कमा गर्न लागिएको हो । बीएमडब्लू एजुकेशनका पब्लीक रिलेशन अफिसर सरोज खनालका अनुसार कोबर्ग लेक पार्कमा विहान ११ बजेदेखि साँझ ६ बजेसम्म बार्बिक्यू गर्ने र धुर्मुस सुन्तली फाउन्डेसनका लागि सहयोग संकलन गर्ने लक्ष्य राखिएको छ । देशका लागि सकारात्मक सोचका साथ केही गर्ने योजना बनाएका धुर्मुस सुन्तलीले केही समय अघि अष्ट्रेलियाका विभिन्न शहरहरुको भ्रमण गरी सहयोग संकलन गरेका थिए ।
एक करोड अपुग
बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि रु एक करोडभन्दा बढी रकमको अभाव देखिएको छ । साबिक बर्दिबास नगरपालिका– २ हाल बर्दिवास– १ मा निर्माणाधीन सो बस्तीको ७२ दिनको अवधिमा ८० प्रतिशत निर्माण सम्पन्न भएको र अब पूर्ण रुपमा तयार हुन रु एक करोड ३० लाख अभाव भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो । सहयोगी हातहरु निरन्तर प्राप्त भइरहेकाले रकम जुट्नेमा आफू विश्वस्त रहेको कट्टेलले बताउनुभयो । कुल रु चार करोड ७८ लाखको लागतमा निर्माण हुने सो बस्ती आगामी नयाँ वर्ष १ का दिन मुसहरलाई हस्तान्तरण गरिने योजनाका साथ काम भइरहेको हास्य कलाकार कुञ्जना घिमिरेले जानकारी दिनुभयो । सो बस्तीका घरमा छाना, रङ्गरोगन, शौचालय, झ्याल तथा ढोका, खानेपानी, विद्युत् र धारा जडान, घरको अन्तिम प्लास्टर, दृश्यस्तम्भ, बस्तीभित्रको सडकको पिसिसी ढलान जस्ता काम तीव्र गतिमा भइरहेको फाउन्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बताउनुभयो । एक सय दिनमा बस्ती निर्माणको काम सम्पन्न गरी मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजनानुसार बस्तीको २० प्रतिशत काम बाँकी छ भने फाउन्डेसनसँग अब २४ दिन मात्र बाँकी रहेको छ । गत पुस २५ गते मह जोडीद्वारा शिलान्यास भई निर्माणाधीन बस्ती निर्माणमा पछिल्ला दुई महिनायता दिनहुँ तीन सय जनाले पसिना बगाइरहेका छन् ।