मेलबर्न आइपुगे सत्यस्वरुप, शुक्रबार सुमधुर संगीतको जमघट


नेपाली सुगम संगीतका दुई हस्ती सत्यराज आचार्य र स्वरुपराज आचार्य मेलबर्न आइपुगेका छन् । आज विहान मेलबर्न आइपुग्दा उनीहरुलाई आयोजक संस्था सेभेन ईपिकका पदाधिकारीहरुले स्वागत गरेका थिए । विमानस्थलमा एमएनटीभीसँग कुरा गर्दै सत्यराज आचार्यले ईनासको आयोजनामा अष्ट्रेलियाभर भएका कन्सर्टहरुको लागि धन्यवाद दिएका छन् भने मेलबर्नका दर्शकहरुको माया, सद्भाव प्राप्त हुने अपेक्षा गरेका छन् । यसअघि कार्यक्रम सम्पन्न भएका एडिलेड र डार्विन शहरका दर्शकहरुलाई धन्यवाद दिँदै शुक्रबारको सत्यस्वरुप साँझमा सहभागी हुन उनले सबैलाई आग्रह गरेका छन् । यसैगरी स्वरुपराज आचार्यले मेलबर्नको कार्यक्रममा आफुहरुले लाईभ प्रस्तुति दिने जानकारी गराए । ट्रयाकमा गीत सुनिरहेका दर्शकहरुको लागि प्रत्यक्ष गीत पस्कन पाउनु खुशीको कुरा भएको उने बताए । आयोजक सेभेन ईपिकका उज्वल घिमिरेले दर्शकहरुको उत्साहबाट आफुहरुमा कार्यक्रम अझै भव्य बनाउने ऊर्जा थपिएको बताएका छन् । सत्य स्वरुपलाई ¥याड्स स्टुडियोले लाईभ संगीतमा साथ दिनेछ । मेलबर्नको एस्कोटभेलस्थित ह्याप्पी रिसेप्सनमा शुक्रबारको साँझ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज भिक्टोरिया च्याप्टरको पुनर्गठन गरिने पनि घिमिरेले जानकारी दिए । ३० डलर प्रवेश शुल्क कार्यक्रमको दिनका लागि तोकिएपनि अहिले २५ डलरमै टिकट प्राप्त गर्न सकिने जानकारी सेभेन ईपिकले दिएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलियाको निम्तोमा सत्य स्वरुप आचार्यले विभिन्न शहरमा कार्यक्रम गर्ने तय भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?