अन्तर्राष्ट्रिय झापाली समाजको पहिलो सम्मेलन दशैंलगत्तै झापामै गर्ने तयारी


झापा जिल्ला घर भई विश्वका विभिन्न देशमा छरिएर रहेका झापालीहरुलाई एकताबद्ध गर्ने उद्देश्यका साथ केही महिना अघि बनाइएको अन्तर्राष्ट्रिय झापाली समाजले सार्वजनिक घोषणा कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष भवानी ओलीले संसारको कना कुनामा कर्मसँग संघर्ष गरी बस्ने सबै झापालीलाई एकसूत्रमा बाँध्ने र एकतालाई सम्बृद्ध पार्दै विभिन्न जाति, भाषा, धर्म, लिंग, संस्कृति र राजनीतिक पृष्ठभूमि भएकाहरुले यो दायराभन्दा माथि उठेर सामाजिक काममा मात्र अघि बढ्ने उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालको सभापतित्वमा भएको कार्यक्रममा उपस्थितहरुलाई महासचिव रुपराज मैनालीले स्वागत गर्नुभएको थियो। उक्त अवसरमा झापाली समाज अष्ट्रेलियाका संरक्षक दिनेश पोखरेल, अध्यक्ष दिपक खनाल र सन्तोष सिटौलाले संस्था गठनको उद्देश्यका बारेमा थप प्रष्ट पारेका थिए । गैरआवासीय नेपाली संघ अष्ट्रेलियासहित अन्य विभिन्न संघसंस्थाका पदाधिकारी उपस्थित कार्यक्रममा सबैले झापाली समाज आफ्नो उद्देश्यमा अघि बढोस् भन्ने शुभकामना दिएका थिए । यसरी आफ्नो मन्तव्य राख्नेहरुमा एनआरएन आईसीसीका पूर्वप्रवक्ता मन केसी, लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्रीनापित, एनआरएन आईसीसी सदस्य धर्मराज अधिकारी, एनआरएन न्यूसाउथवेल्सका सचिव भुपाल सिटौला, एनआरएन क्वीन्सल्याण्डका पूर्वसंयोजक स्वतन्त्रप्रताप शाह, प्रवासी म्याग्दी सेवा समाजका ओसियाना संयोजक हरि राम्जाली, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, जनसम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष छिरिंग लामा तथा सचिव घिरज मल्ल, गोरखा नेप्लीज कम्युनिटीका देव गुरुंग, सुदूरपश्चिम समाजका केशव जोशी, बागलुंग समाजका अध्यक्ष टिका कार्की, रुपन्देही समाजका राज खनाल, एन्फा अष्ट्रेलियाका अध्यक्ष राजु मानन्धर, तनहुँ समाजका पर्शुराम अधिकारी, तेह्रथुम समाजका अध्यक्ष पुण्य सेढाई, ब्ल्याकटाउन नेप्लीज कम्युनिटीका अध्यक्ष कृष्ण निरौला, नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका पूर्वअध्यक्ष चित्र तुम्बाहाम्फे तथा अभिभावक केदार पोखरेल हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय झापाली समाजले आउँदो दशैं लगत्तै झापामा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वका १८ देशमा रहेका झापाली समाजको अग्रसरतामा अन्तर्राष्ट्रिय झापाली समाज गठन गरिएको जानकारी पनि उक्त अवसरमा गराइएको थियो । उक्त अवसरमा दिइएको जानकारी अनुसार अन्तर्राष्ट्रिय झापाली समाजका ओसियाना क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका सन्तोष सिटौला, एशिया प्यासिफिक संयोजकमा कोरियाका केपी सिटौला, मध्यपूर्व क्षेत्रीय संयोजकमा कुवेतका ध्रुव संग्रौला, युरोप क्षेत्रीय संयोजकमा बेलायतका धनकिरण गुरुंग र उत्तर अमेरिका संयोजकमा अमेरिकाका प्रमोद सिटौलालाई तोकिएको छ । यसैगरी संस्थाको महासचिवमा अष्ट्रेलियाका रुपराज मैनाली, सचिवमा अमेरिकाका प्रसन्न संग्रौला, कोषाध्यक्षमा लक्जेम्बर्गका बालहरि राई, प्रवक्तामा हंगकंगका छत्र सुब्बा र मिडिया संयोजकमा ईजरायलका गणेश गौतम रहेको पनि बताइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?