‘अस्थी धातु’ प्रदर्शन, देशका विभिन्न भागमा मनाइयो बुद्धजयन्ती
बुद्धजयन्ती मूल समारोह समितिले २५६१ औँ बुद्धजयन्तीको उपलक्ष्यमा आनन्दकुटी विहारमा ‘अस्थी धातु’ प्रदर्शन गरेको छ । प्रत्येक वर्ष बुद्धजयन्तीका दिन सर्वसाधारणको दर्शनका लागि ‘अस्थी धातु’ प्रदर्शन गर्ने प्रचलन छ । शाक्यमुनि गौतमबुद्धको अन्त्येष्टिका क्रममा रहेका अवशेषलाई ‘अस्थी धातु’ भनिन्छ । बौद्ध धर्मावलम्बीले सो धातुलाई पवित्र वस्तुका रुपमा सम्मान गर्ने गर्दछन् । वर्षमा एक पटक मात्र देखाइने हुँदा ‘अस्थी धातु’ दर्शनका लागि सर्वसाधारणको विशेष घुइँचो लाग्ने गरिन्छ । समितिका संयोजक एवम् विहारका प्रमुख भिक्षु धर्ममूर्तिले दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि साँझसम्म नै दर्शनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । सो धातुको प्रदर्शनबाट सङ्कलन हुने रकम विहारको जीर्णोद्धारका लागि खर्च गरिने छ । विसं २००१ मा श्रीलङ्काबाट भिक्षु नारद थेराको समूहले ‘अस्थी धातु’ नेपालमा ल्याई सो विहारलाई उपहार प्रदान गरेको थियो । यसैबीच चाबहिलस्थित ऐतिहासिक चारुमती विहारमा विशेष बुद्ध पूजा सम्पन्न भएको छ । करिब दुई हजार ३०० वर्ष अगाडि सम्राट अशोकका छोरी सो स्थानमा आएर विहार निर्माण गरिएको बताइएको छ । चारुमती बुद्धिस्ट मिसनका अध्यक्ष भिक्षु तपस्सी धम्मले बुद्धले विश्वका मानवका लागि दिएको शान्ति तथा अहिंसाको सन्देशलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । बुद्धजयन्तीको प्रवद्र्धन गर्नका लागि सो विहारले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।