जग्गा हडप्न अपहरण गर्नेक्रममा पक्राउ परेका चारजना पुर्पक्षका लागि जेल चलान
झापाको बिर्तामोड नगरपालिकामा रहेको झन्डै रु १५ करोड पर्ने जग्गा कीर्ते गरी हडप्न खोजेको आरोपमा पक्राउ परेका ६ जनामध्ये चारजना आज पुर्पक्षका लागि जेल चलान भएका छन् । जग्गाधनी जीवन विष्टलाई अपहरण गरी उनको नाममा रहेको पाँच कट्ठा १६ धुर जग्गा हड्पेको उजुरीका आधारमा पक्राउ परेका मध्ये भूपू कान्छा, राजु कुँवर, प्रेम न्यौपाने र तेजेन्द्र न्यौपाने जिल्ला अदालतको थुनछेक आदेशपछि पुर्पक्षका लागि जेल चलान भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका मध्ये उत्तम कोइराला रु एक लाख धरौटी र रुद्र सापकोटा रु तीन लाख धरौटीमा छुटेका छन् । पुर्पक्षका लागि जेल चलान भएका मध्ये भूपू कान्छा नामले परिचित भूपू राई मेची नगरपालिका–६ निवासी हुन् । त्यस्तै, भद्रपुर–७ का तेजेन्द्र न्यौपाने जिल्ला प्रशासन कार्यालय झापाका खरिदार हुन् । भद्रपुरकै प्रेम न्यौपाने न्यौपाने स्टोरका सञ्चालक हुन् । राजु कुँवर मेचीनगरपालिका–४ का स्थायी बासिन्दा हुन् । यता, धरौटीमा रिहा भएका मध्ये रुद्र सापकोटा नापी कार्यालय झापाका खरिदार पदमा कार्यरत थिए । गत १२ माघ गते आफूलाई अपहरण गरी बन्धक बनाएर हतियार तेस्र्याउँदै जग्गाको किनबेचसम्बन्धी कागजातमा जबर्जस्ती सही छाप गराएको भन्दै झापा शनिश्चरेका विष्टले उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । विष्टको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।