सिभिक थियटरमा कवि महेश्वर शर्माको ‘प्रवासका जुनहरु’को विमोचन हुने
देशको सिमानाभन्दा बाहिर बसेर पनि नेपाली भाषा, साहित्यको श्रीबृद्धिमा निरन्तर ईंटा थप्ने क्रमको अर्को कडीका रुपमा कवि महेश्वर शर्माले आफ्नो कविता संग्रह प्रवासका जूनहरु शनिबार विमोचन गर्दैछन् । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको प्रमुख आतिथ्यमा आफ्नै आमाबुबाको हातबाट कृतिको विमोचन गर्ने तयारी गरेको साहित्यकार शर्माले एमएनटीभीलाई बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूसाउथवेल्स च्याप्टरको आयोजनामा हुने यस कविता संग्रह विमोचन कार्यक्रममा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले पनि सहकार्य गरेको छ । विमोचन समारोह सिड्नीको हस्र्टभिलस्थित सिभिक थियटरमा गरिनेछ । जसमा उनले आफ्ना कविताहरु वाचन गरेर समेत सुनाउनेछन् । शनिबार दिउँसो दुई बेदेखि कृतिको विमोचन र कविता वाचन सुरु हुनेछ । कविता संग्रह ‘प्रवासका जूनहरु’मा बौद्धिक पलायन र त्यसमा देशले गर्ने आशका भावहरु समेटिएको छ । कवि शर्मा भन्छन्, अष्ट्रेलियामा रहिरहँदा मनमा लागिरहन्थ्यो, मैले देखेका भोगेका परिदृश्यहरुलाई कतै अक्षरमा पोख्न पाए। ती अक्षरहरु मार्फत धेरै पाठकहरुको बिचमा पुग्न पाए कस्तो हुन्थ्यो होला । त्यस्तै देशका लागि केही गर्न पाए कस्तो हुन्थ्यो । यिनै भावहरुलाई समेटेर मैले सिमाना बाहिर रहेका नेपालीहरुको भावनालाई समेट्ने जमर्को गरेको हुँ ।