यस स्टडी एम्बेसडर कप सेप्टेम्बरमा, सिड्नीबाहिरका टिम पनि सहभागी हुने


डाँफे फुटबल क्लबको आयोजनामा आगामी सेप्टेम्बर २३ र २४ मा यस स्टडीज एम्बेसडर कप फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार सिड्नीमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस प्रतियोगिताको मुख्य प्रायोजन यस स्टडीले गरेको छ । लिग कम नकआउटका आधारमा प्रतियोगिता आयोजना गरिने भएको छ भने सिड्नी बाहेक अन्य शहरहरुबाट पनि फुटबल टोली सहभागी हुनेछन् । अहिलेसम्म मेलबर्न र अल्बरीबाट टिम सहभागी हुने निश्चित भइसकेको पत्रकरा सम्मेलनमा आयोजक डाँफे क्लबका प्रमुख प्रशिक्षक मिलन थापाले जानकारी दिए । उनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार डलर नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउनेछ भने दोश्रो हुने टिमले दुई हजार डलरसहित ट्रफी र प्रमाणपत्र पाउनेछ । यस बाहेक पनि विभिन्न अन्य विधामा खेलाडीहरुलाई पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा २० टिम सहभागी हुने निश्चित भएको छ । कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक नन्द गुरुंगले प्रतियोगिता सञ्चालन सहज नभएको भन्दै यसका लागि जुटेको क्लबलाई बधाई दिएका थिए । खेलको माध्यमबाट नेपाली समूदायलाई एकताबद्ध बनाउने यो प्रयासमा एनआरएन सदैव साथ हुने पनि उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रायोजकको तर्फबाट बोल्दै यस स्टडीजका अभिषेक प्रधान र दिपक अग्रवालले सामाजिक दायित्व अन्तर्गत आफुहरु प्रतियोगिताको प्रायोजनमा संलग्न भएको भन्दै खुशी व्यक्त गरे । यसैगरी अष्ट्रेलियामा नेपाली फुटबलका हस्ती राजु मानन्धरले स्तरीय र व्यवस्थित प्रतियोगिता आयोजना गरेर अष्ट्रेलियाले डायस्पोरामा हासिल गरेको ईज्जतलाई यस प्रतियोगिता अझै अघि बढाउने आफ्नो विश्वास रहेको धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?