अमेरिका स्तब्ध, लस भेगास गोली काण्डमा मर्नेको संख्या ५० नाघ्यो, कैयौं घाइते
अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्टमा भएको गोलीकाण्डमा कम्तीमा पनि ५० जनाको ज्यान गएको छ भने अरु २०० जना घाइते भएका छन् । लस भेगासको मन्डालय बे होटलबाट कन्सर्ट भइरहेको ठाउँमा गोली हानिएको थियो । अन्धाधुन्ध भएको गोली प्रहारमा ५० जनाको ज्यान गएको पुष्टी भएको छ । सोमबार बिहान लस भेगसको नगर प्रहरीले मारिने व्यक्तिको संख्या ५० पुगेको जानकारी सहितको विज्ञप्ति प्रकाशन गरेको छ । सोही गोलीकाण्डमा परी २०० जना गम्भीर रुपमा घाइते भएका छन् ।
सो कन्सर्टमा एकजना आक्रमणकारीले गोली चलाएर आम हत्या गरेको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको बारेमा प्रहरीले दिएको जानकारी अनुसार उक्त व्यक्ति ६४ बर्षको स्टेफन प्याडक हुन् । उनी स्थानीय नागरिक हुन् । ती आक्रमणकारीलाई पनि पछि प्रहरीले गोली हानी मारेको थियो । प्रहरीले उनी आतंककारीसँग सम्बन्धित रहेको कुनै समाचार भने बाहिर आएको छैन भनेको छ । तर उनको सम्बन्ध कोसँग थियो भन्ने बारेमा खोजी गरिरहेको पनि प्रहरीले बताएको छ ।
साथै प्रहरीले सो घटनामा संलग्नताको आशंकामा एकजना एसियाली महिलाको पनि खोजी गरिरहेको जनाएको छ ।