काठमाडौंमा दिनदहाडै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या
काठमाडौंमा फेरि असुरक्षाको क्रम सुरु भएको छ । दिनदहाडै गाडीमा आफ्नो काममा जान लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । गाडीको सीसाबाहिरबाट हानीएको गोली उनको पेटमा लागेको थियो । घाइते गौचनलाई तत्कालै सिभिल अस्पतालमा लैजान खोज्दा उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनी आफ्नो घरबाट बा. १३ ४९४८ नम्बरको प्राडो गाडीमा बाहिर निस्केका थिए । यतिबेला सिभिल अस्पतालमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला भएका छन् । प्रहरीले काठमाडौंको सबै नाकामा चेकजाँच कडाई गर्नुका साथै तत्कालै अपराधीलाई पक्राउ गर्न कुनै कसर बाँकी नराख्ने जनाएको छ ।
यस्तो थियो स्थिति
घरबाट निस्किएका गौचनको गाडी चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । ड्राईभरसँगै अगाडिको सिटमा रहेका उनलाई ताकेर गोली प्रहार हुनुबाट उनीहरु कुरेर बसिरहेको प्रहरीले आंकलन गरेको छ । प्रहरीले घटनाको सम्बन्धमा स्थानीयसँग सोधपुछ गरेको छ भने चोकमा धेरै समयदेखि दुई युवा बसिरहेको बताएका छन् । प्रत्यक्षदर्शीहरुले गोली हान्नेहरुले पटक पटक फोन सम्पर्क गरी अन्यत्र अरुसँग कुराकानी गरेर बसिरहेको देखेको बताएका छन् । मोटरसाईकलमा आएका युवाहरुले चोकभन्दा अलि पर मोटरसाईकल पार्क गरेर राखेका थिए । प्रहरीले यो घटनामा ठेक्कापट्टाको लेनदेन या चन्दा कारण हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।