जब नेपाली राजदूतको कुरा सुनेर अष्ट्रेलियाकी विदेशमन्त्री जुली विशप चकित भइन् !
अष्ट्रेलियाकी विदेशमन्त्री जुली विषपसँग नेपाली राजदूत लक्की शेर्पाको बिहीबार भेट भएको छ । क्यानबेरास्थित संसद भवनमा भएको भेटमा नेपालमा अहिलेसम्म अष्ट्रेलियाबाट मन्त्रीस्तरीय समेत भ्रमण् नभएको थाहा पाएपछि मन्त्री जुली विशप आश्चर्यचकित भएकी हुन् । नेपाललाई भूकम्पको बेला सहयोग गर्नका लागि पहल गर्नेमध्ये जुली पनि एक हुन् । तर, उनलाई नेपालमा अहिलेसम्म अष्ट्रेलियाका मन्त्री समेत औपचारिक भ्रमणमा गएका छैनन् भन्ने थाहा रहेनछ । यो तथ्य राजदूत शेर्पाले अवगत गराएँदा उनले आफु नेपाल जान ईच्छुक रहेको र अन्य उच्चस्तरीय भ्रमणक लािग पनि पहल गर्ने बताएकी हुन् । हालै निर्माण गरिएको दुई देशस्तरीय कन्सल्टींग मेकानिजमको बैठक काठमाडौंमा हुने भएका कारण त्यसैको सेरोफेरोमा भ्रमणको उपयुक्त अवसर हुनसक्ने पनि छलफलमा प्रसंग उठेको थियो । यसका साथै विदेशमन्त्री जुली विशपलाई राजदूत शेर्पाले नेपालमा अहिले महिला राष्ट्रपति रहेको, महिला सभामुख नै रहेको अवस्थामा एक असल मित्रदेशबाट महिला विदेशमन्त्री पुग्दा यसले अझ बढी सकारात्मक तरंग ल्याउने अवगत गराएकी थिइन् । भेटका विषयमा राजदूत शेर्पाले एमएनटीभीसँग कुरा गर्दै भनिन्, मैले सबैभन्दा जोड दिएर उठाएको विषय नेपाली विदार्थीहरुले भिसा आवेदन दिँदा आइपर्ने अप्ठेरोहरुलाई सहज बनाइदिने कुरा हो । यसमा उहाँले सकारात्मक जवाफ दिनुभएको छ । साथै युवा उद्यमशीलताको विकासमा अष्ट्रेलियाले नेपालमा केही गर्नुपर्छ भन्ने कुरा पनि मैले राखेकी हुँ ।
पछिल्लो समय राजदूत शेर्पाले नेपाली विद्यार्थीहरुको समस्यालाई यहाँको सरकार समक्ष आधिकारिक रुपमा राख्ने प्रयत्न गर्दै आएकी छिन् । यस्तै उच्चस्तरीय भ्रमण नेपालमा लैजान उनको योजना छ । यसका लागि पनि पहल निकै अघि बढेको छ । अर्कोतर्फ, नेपाल र अष्ट्रेलियाबीच व्यापार अभिबृद्धि गर्ने योजनामा पनि काम भइरहेको छ । यिनै विषयलाई अष्ट्रेलियाको उच्चस्तरीय तहमा लैजाने प्रयासको अर्को कडीमा रुपमा यो भेट भएको राजदूत शेर्पाले बताइन् । उक्त भेटमा न्यूसाउथवेल्स्का मेम्बर अफ पार्लियामेन्ट डेभिड कोलम्यान पनि सहभागी थिए ।