काठमाडौंको खिचापोखरीबाट तीन हुन्डी कारोबारी पक्राउ, ५६ लाख बरामद
नेपालमा अवैध रकमको कारोबार गर्नु अपराध हो । तर, अहिले विश्वभरिबाटै बैंकिंग च्यानलबाट आउनुपर्ने रकम यसरी दोश्रो बाटोबाट आइरहेको छ । यसैलाई रोक्नका लागि प्रहरीले बेला बेलामा अपरेशन पनि सञ्चालन गर्नेगर्दछ । यही क्रममा प्रहरीले काठमाडौंको न्यूरोडस्थित खिचापोखरीबाट ५६ लाख ८० हजार रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ पैर्यु पथान गाउँपालिकाका ३४ वर्षीय पूर्ण थापा, बाग्लुङ बुर्तिबाङ–१ का २४ वर्षीय प्रदिप छन्त्याल र मोरङ कानेपोखरी नगरपालिका– ३ का २५ वर्षीय कुलदिप चौधरी रहेका छन् । लामो समयदेखि अवैध हुण्डीको कारोवार गर्दै आएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई शुक्रबार दिउँसो उक्त रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । बरामद रकममध्ये थापाको साथबाट ३९ लाख, छन्त्यालको साथबाट १३ लाख ५० हजार र चौधरीको साथबाट ४ लाख ३० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।