रेनेगेड्स च्याम्पियन्स लिगमा नेपालले बंगलादेशलाई हरायो, श्रीलंकासँग पराजित, अब भारतसँग भिडन्त


आईतबार अष्ट्रेलियाको मेलबर्नमा सञ्चालन भएको रेनेगेड्स च्याम्पियन्स लिग अन्तर्गतको खेलमा नेपालले एक खेल जितेको छ भने अर्को खेलमा पराजित भएको छ । स्थानीय पार्कभिलमा सञ्चालित पहिलो खेलमा नेपालले बंगलादेशलाई २३ रनले पराजित गर्न सफल भयो । बंगलादेशसँग विजय दिलाउने क्रममा सुसन गुरुंगले २३ रनको योगदान दिए भने कुशल तुलाधर १६, मनिषले १० रन बनाएका थिए । यसको जवाफमा बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । उक्त प्रतियोगिताको म्यान अफ द म्याच राजकुमार गुरुंग घोषित भए । उनले दुई विकेट लिएका थिए ।
यसपछि भएको दोश्रो खेलमा श्रीलंकासँग भिडेको नेपालले १ सय ६० रनको लक्ष्य पाएको थियो । पहिले व्याटिंग गरेको श्रीलंकाले दिएको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा एक सय रन बनाउँदा सबै खेलाडी आउट भएपछि पराजय भोग्न पर्यो । प्रतियोगिता अन्तर्गत अर्को साता आईतबार विहान ९ बजे भारतसँग नेपालको भिडन्त हुनेछ भने १ बजे अफगानिस्तानसँग खेल हुँदैछ । खेलाडीहरुले प्रतियोगितामा सहभागी हुन मेलबर्नवासी नेपालीहरुलाई आग्रह गरेका छन् । टीमका म्यानेजर एवं नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष तारा गैरे दर्शकहरुको न्यून उपस्थिति भएका कारण केही खिन्न भएको बताएँछन् । उनी भन्छन्, “हामीले मेलबर्नवासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई खेलाडीको हौसला बढाउन झण्डासहित आउन आग्रह गरेका थियौं । तर, केही साथीहरु मात्रै आउनुभयो । हामी पुनः अर्को साता देशको झण्डा बोकेर मैदानमा नेपाली खेलाडीको हौसला बढाउन आइदिनुहुन आग्रह गर्दछौं ।” स्मरणीय छ मैदानमा खेलाडी बाहेक मुश्किलले १० जना नेपाली दर्शकहरु उपस्थित थिए ।

पहिलो दिनको खेल समाप्तिमा यस्तो छ स्थिति
पहिलो खेल नेपालले बंगलादेशलाई पराजित गरेको थियो । दोश्रो खेलमा अफगानिस्तानले पाकिस्तानलाई हरायो । तेश्रो खेलमा भारतले श्रीलंकालाई हरायो । चौथो खेलमा श्रीलंकाले नेपाललाई हरायो । पाचौं खेलमा भारतले पाकिस्तानलाई हरायो । छैठों खेलमा अफगानिस्तानले बंगलादेशलाई पराजित गर्न सफल भयो । यसरी अविजित रहँदै अफगानिस्तान तालिकाको पहिलो नम्बरमा छ भने दोश्रोमा भारत, तेश्रोमा श्रीलंका, चौथोमा नेपाल, पाचौंमा पाकिस्तान र छैठौंमा बंगलादेश रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?