न्याभ र क्रिकेट भिक्टोरियाबीच समझदारीपत्रमा हस्ताक्षर, नेपाली समूदायको क्रिकेट मूलधारमा समावेश


क्रिकेट भिक्टोरिया र नेपालीहरुको संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरियाबीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ । मंगलबार मेलबर्नमा आयोजना गरिएको एक कार्यक्रमकाबीच न्याभका अध्यक्ष डा. अनुपम पोखरेल र क्रिकेट भिक्टोरियाको तर्फबाट हुसेन हनिफले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यो हस्ताक्षरसँगै न्याभ कप क्रिकेटको स्कोर माई क्रिकेट डट क्रिकेट डटकम डट मार्फत अपडेट हुने भएको छ । साथै यो प्रतियोगितामा समावेश भएका क्लब र खेलाडीहरुको अहिलेसम्मपको प्रदर्शन, आगामी खेलहरु सबै तथ्यांक डाटाबेसमा राखिने भएको छ । यससँगै यो समझदारीपत्रमा हस्ताक्षर भएपछि अब न्याभ कप क्रिकेटमा दर्ता भएर खेल खेल्ने नेपाली समूदायका क्रिकेटरहरुले भवितव्यको अवस्थामा ईन्स्युरेन्स दावी गर्न सक्नेछन् । क्रिकेट भिक्टोरियासँग सम्बन्धन पाएको अवस्थामा अब न्याभले क्रिकेट भिक्टोरियासँग आगामी दिनमा सहयोगका विभिन्न कार्यक्रम समेत माग गर्न सक्नेछ । हस्ताक्षरपछि एमएनटीभीसँग कुरा गर्दै न्याभका अध्यक्ष डा. पोखरेलले नेपाली समूदायको लागि यो अत्यन्तै खुशीको कुरा भएको बताउनुभयो । “अहिले हामीले गरेको न्याभ कप क्रिकेट १३ वर्ष पुगिसकेको छ । विगतमा कुन खेलाडीले कति विकेट लियो, कसले जित्यो, कसले हार्यो भन्ने मोटामोटी हिसाब त भेटिएला तर यसको सम्पूर्ण जानकारी राख्ने जिम्मेवारी स्वयं क्रिकेट अष्ट्रेलियासँग सम्बन्धित निकायले लिएपछि अब हाम्रो क्रिकेट संस्थागत बनेको छ ।” पोखरेलले भने । न्याभकै उपाध्यक्ष एवं क्रिकेट संयोजक तारा गैरेले खेलाडीहरुको अहिलेसम्मको खेललाई डाटाबेसमा राखेपछि व्यवसायिक टिमहरुले पनि नेपाली खेलाडीहरुको विषयमा जानकारी प्राप्त गर्ने र यसले खेलाडीको स्तर बढाउनका साथै उनीहरुलाई विभिन्न व्यवसायिक टिममा समावेश हुने अवसर पनि प्रदान गर्ने जानकारी दिए । कार्यक्रममा बोल्दै ईन्डोर क्रिकेट भिक्टोरियाका संयोजक एन्ड्रयू वारिकले आफुहरु नेपाली समूदायलाई सघाउन तयार रहेको बताएका थिए । उनले खुला क्रिकेट मात्र नभई ईन्डोरका क्रिकेट पनि आयोजना गर्न सुझाव दिएका थिए ।

सोही क्रममा बोल्दै अरविन सुरेशले यस वर्षको न्याभ कपको आगामी आईतबार हुने प्रतियोगिताबाटै लाईभ स्कोर अपडेट गर्ने क्रम सुरु गरिने जानकारी दिए । अष्ट्रेलियाभर हुने क्रिकेटका प्रतियोगिताहरु यो आधिकारिक वेवसाईटमार्फत अपडेट हुने गर्दछ । क्रिकेट अष्ट्रेलियाको आधिकारिक स्कोर बोर्डमा फलो गर्ने लाखौं क्रिकेटका प्रशंसक रहेका छन् । 

यसैबीच, एक्सपर्ट न्याभ कप क्रिकेटको १३ औं संस्करणको फाईनल खेल १८ फेब्रुअरी आईतबार हुने भएको छ । प्रतियोगिताका संयोजक सन्तोष वास्ताकोटीले दिएको जानकारी अनुसार फाईनलमा हिमालयन क्लब र रोयल राईनोजबिच प्रधिस्पर्धा हुने भएको छ । उपाधिका लागि पहिलो पटक फाईललमा पुगेको रोयल राईनोजले अनुभवी हिमालयन क्लबलाई पराजित गर्नुपर्नेछ । हिमालयन क्लबले यसअघि चार पटक न्याभ कप उपाधि उचालिसकेको छ । यस प्रतियोगितामा सगरमाथा रेनेगेड्स, सगरमाथा स्टार्स, सगरमाथा टाईटन्स, हिमालयन हुरिकेन्स, हिमालयन स्ट्रोम्स, गोर्खाली क्रिकेट क्लब, रोयल राईनोज क्रिकेट क्लब, ईस्टर ब्लूज र नारे किङ्स गरी ९ टिम सहभागी थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?