चार तल्ला माथिबाट खसालेर मारिएका भुजेलको हत्यारा पक्राउ


महानगरीय प्रहरी परिसरले सिटी सेन्टरको विग मुभिज सिनेमा घरमा कार्यरत सेक्युरिटी गार्डको हत्यारालाई पक्राउ गरेको छ । प्रहरीले सिटी सेन्टरमा विग मुभिज सिनेमा घरमा दुई वर्षदेखि कार्यरत सेक्युरिटी गार्ड रवीन खवास भुजेलको हत्यामा संलग्न रुद्रबहादुर बस्नेतलाई शुक्रबारै पक्राउ गरेको हो । बस्नेतले शुक्रबार बिहान ३ः३० बजे मादक पदार्थ सेवन गरी भएको सामान्य विवादका कारण मुख र नाकमा थिची चार तलामाथिबाट खसालेका थिए । उनीहरु दुवैजना विगत एक वर्षदेखि ‘गुप्र फोर’ कम्पनीमार्फत उक्त सिनेमा घरमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बस्नेतलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सातजनाको हत्या अभियोग लागेका सकिललाई नेपाल ल्याइयो

सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ । सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगटन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।
इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेकोमा इन्टरपोल कतारबाट खटिआएका प्रहरी अधिकृतले आज हुसेनलाई नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहसमेत सातजनाको हत्या गरी फरार रहेको अभियोगमा हुसेनविरुद्ध सप्तरी जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएकोमा उनी फरार भएर वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए ।
पक्राउ परेका हुसेनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?