नेपाली युवा असीम सुवेदी बने क्रिकेट अष्ट्रेलियाको प्रतिनिधि प्रशिक्षक !
अष्ट्रेलियाको मेलबर्नमा सञ्चालित सगरमाथा क्रिकेट क्लबका प्रशिक्षक असीम सुवेदी क्रिकेट अष्ट्रेलियाको प्रतिनिधि कोच बन्न सफल भएका छन् । उनी लेभल टुको प्रतिनिधि प्रशिक्षकका रुपमा मान्यता पाउन सफल भएका हुन् । अष्ट्रेलियन गएको अगष्ट महिनामा सञ्चालित लेभल टु प्रतिनिधि प्रशिक्षक तालिममा नेपालसहित हंगकंग, जिम्बाबे, श्रीलंका र अष्ट्रेलियाका प्रशिक्षकहरु सहभागी भएका थिए । क्रिकेट भिक्टोरियाले आयोजना गरेको पाँच दिने तालिम पछि सुवेदीले यस्तो उपाधि पाएका हुन् । प्रशिक्षकहरुलाई भिक्टोरियाको महिला क्रिकेट टिमका व्याटिंग कोच डेभिड हेम्प र अष्ट्रेलियन ईन्डोर क्रिकेट कोच रोस ग्रिगोरीले तालिम दिएका थिए । तालिममा एडभान्स फिल्डिंग क्याप्टेन्सी, गेम सेन्स, बायोमेकानिक अफ क्रिकेट, प्रिन्सिपल अफ कोचिंग, एड्भान्स विकेट किपिंग, म्यानेजमेन्ट, लिगल रिक्वायरमेन्ट, लिडरशिप, मेन्टल स्कील लगायतका विषयमा तालिम दिइएको थियो । असीम अष्ट्रेलिया आउनुअघि नेपालमा एनटीभी टू को खेल कार्यक्रम प्रस्तोता थिए भने क्रिकेटको कमेन्ट्री गर्ने गर्दथे । उनी सन् २०१४ मा अष्ट्रेलिया आएका हुन् । यसपछि उनले भिक्टोरियाको सब डिष्ट्रीक क्रिकेट क्लबहरु र नेपाली सामूदायिक क्रिकेट क्लबहरुमा खेल्दै आएका छन् । अन्तर राज्य क्रिकेट प्रतियोगितामा असिमले भिक्टोरियाको प्रतिनिधित्व पनि गरेका थिए । उनले हालै सम्पन्न भएको मेलबर्न रेनेगेड्स च्याम्पियन्स लिगमा उपकप्तानको भूमिका समेत निभाएका थिए । सुवेदी क्रिकेट अष्ट्रेलियाको मान्इता प्राप्त क्रिकेट प्रशिक्षक बन्न सफल हुनु सबै नेपाली समूदायका लागि खुशीको कुरा बनेको छ ।