सकियो ३३ किलो सुन तस्करी काण्ड र यसको सेरोफेरोका अपराधबारेको अनुसन्धान, आज मुद्दा दायर हुने


नेपालको पूरै राज्यसंयन्त्रलाई पंगु बनाएर विमानस्थलमार्फत लामो समयदेखि चलेको सुन तस्करीको जालो तोड्नेगरी सरकारले थालेको अनुसन्धान टुंगोमा पुगेको छ । पहिलो चरणमा २८ जनाविरुद्ध आज मुद्दा दायर हुँदैछ । जिप्रका मोरङका अनुसन्धान अधिकृत डिएसपी निशान थापाले मिसिल जिल्ला सरकारी वकिल कार्यालय मोरङलाई जिम्मा लगाइसकेका छन्। स्रोतका अनुसार सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा मोरङ जिल्ला अदालतमा बुझाउने तयारी गरेको हो। 
अनुसन्धानमा सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहसँग प्रहरीको मिलेमतो खुलासा भएको छ। विमानस्थलको सुरक्षा गार्ड प्रमुखदेखि एक समयको पूरै सेट संगठित अपराधमा संलग्न देखिएको छ। यस्तै सुन तस्करीका मुख्य लगानीकर्ता, सुन भित्र्याउन सघाउने विमान कर्मचारी र भरियासहित २८ जना पक्राउ परेका छन्। पक्राउ बाहेकलाइ फरार प्रतिवादी कायम गरी बुधबार मुद्दा अदालत बुझाउने स्रोतले बतायो।
समितिले पक्राउ गरेका बाहेक मोरङ प्रहरीले समेत घटनाको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख दिवेश लोहनीलाई समेत उपस्थित हुन पत्र काटेको छ। यसअघि सोही विषयमा पत्र काटेका डिएसपी प्रजित केसीलाई मोरङ प्रहरीले हिरासतमा लिएको थियो। महाशाखाको अनुसन्धानमा कैफियत भेटिएको ठहर समितिको छ।
अनुसन्धान समितिले औंल्याएका विषयमा अनुसन्धान गर्दा महाशाखाले सुन तस्कर चुणामणि उप्रेती उर्फ गोरे पक्राउ गर्न अपनाएको ‘अफ ट्रयाक अनुसन्धान’ प्रक्रियागत रुपमा कानुनको उलंघन भएको ठहर गरेको हो। महाशाखाका तत्कालीन प्रहरी अधिकारीको बयान र उपलब्ध सबुत प्रमाणका आधारमा उनीहरुले दाबी गर्दै आएको ‘सफा नियत’ पुष्टि गर्न नसक्ने ठहर गर्दै तीनै जनालाई पत्र काटेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?