सुरु भयो विश्वकप फुटबल, उद्घाटन खेलमा ५ गोल अन्तरले रसियाले साउदीलाई हरायो


विश्वकप फुटबल बिहीबारबाट रसियाको मस्कोमा सुरु भएको छ । उद्घाटन खेलमै आयोजक राष्ट्रको सफल सुरुआतलाई निरन्तरता दिँदै रुसले फिफा विश्वकप २०१८ को उद्घाटन खेलमा  साउदी अरेबियालाई ५-० ले पराजित गरेको हो । रुसले दुई गोल त ९० मिनेटको समाप्तिपछि थपिएको समयमा गरेको थियो ।

रुसले १२ औं मिनेटमा अग्रता लियो । युरी गाजिन्सकीले एलेक्जेन्डर गोलोभिनको क्रसको सदुपयोग गर्दै हेडर गोलमार्फत घरेलु टोलीलाई अगाडि बढाएका थिए ।

पहिलो हाफको अन्त्यतिर डेनिस चेरेसेभले रुसको अग्रता दोब्बर पारे । वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका चेरेसेभले डिफेन्सलाई पेनाल्टी क्षेत्रभित्र छलाउँदै उत्कृष्ट गोल गरेका थिए । २३ औं मिनेटमा एलन जागोएभको तिघ्रामा चोट लागेपछि उनी मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफमा पनि रुसले पहिलो हाफको लयलाई कायम राख्दै साउदीमाथि दबाब कायम राख्यो । रुसको अग्रता बढाउन फेरिपनि अर्का वैकल्पिक खेलाडीले गोल गरे । फरवार्ड आर्टेम ज्युबाले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गरे । युवा गोलोभिनकै क्रसमा उनले हेडर गोल गरेका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा चेरेसेभले रसियाको लागि चौथो गोल गर्दा गोलोभिनले उत्कृष्ट प्रदर्शनको अन्त्य गोलसँगै गरे । गोलोभिनले पेनाल्टी क्षेत्रको ठीक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरेका थिए । त्यसअघि रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले औपचारिक रुपमा विश्वकपको उद्घाटन गरेका थिए । उनले खेल सुरु हुनुअघि बोल्दै रुसले विश्व खेलकुदकै प्रतिष्ठित प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी व्यक्त गरे । “हाम्रो देशमा फुटबल प्रख्यात मात्र नभएर सुन्दर खेलको रुपका लिइन्छ । यहाँका मानिसले फुटबललाई साँच्चै नै माया गर्छन् । खेलप्रतिको मायाले विश्वलाई एकत्रित बनाएको छ,” उनले भने । ८० हजार दर्शक क्षमताको लुझ्निकी रंगशालामा ब्रिटिस पप गायक रोबी विलियम्सले आफ्नो प्रस्तुति पनि दिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?