अघिल्लो पटकका च्याम्पियन जर्मन पराजित, विश्वकपको विजेतालाई हराएर कीर्तिमान राख्यो कोरियाले (watch video)


अघिल्लो पटकको च्याम्पियन जर्मनीलाई कोरियाले दुई शून्यमा पराजित गरेपछि जर्मन विश्वकपबाट बाहिरिएको छ । टप १६ मा समेत नाम लेखाउन असफल भई बाहिरिएको विश्वविजेता जर्मनका फ्यानहरु निरास बनेका छन् । खेलको ९० मिनेटपछि थपिएको अतिरिक्त समयमा कोरियाको तर्फबाट गोल भएको थियो । दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध तीन गोल गरेका कारण जर्मनी दबावमा आएको थियो । त्यही बेला किम युङ गोनले गोल गरे । सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए । तर, भीएआर रिभ्यूबाट गोल दिइयो । झन दबावमा आएको जर्मनीका गोलकिपर निकै अगाडि बढेर खेलेको मौकामा अन्तिम मिनेटमा सन हियुङ मिनले खाली पोष्टमा गोल गरेका हुन् ।पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २-१ ले हराएको थियो । समूह चरणको अन्तिम खेल खेल्दै गर्दा दक्षिण कोरिया बाहेक तीनै टिमको सम्भावना थियो ।
तर, जर्मनीका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गर्न दक्षिण कोरियालाई हराउनै पर्ने थियो । यदि जर्मनीले कोरियालाई हराएको र स्वीडेनले मेक्सिकोलाई ३-० ले जितेको भए गोल अन्तरका आधारमा जर्मनी अघिल्लो चरण पुग्थ्यो भने मेक्सिको बाहिरिने थियो ।
तर, कोरियाले आफू मात्र बाहिरिएन, साविकको विजेतालाई पनि सँगै घर फर्काएको छ । हारका बाबजुद मेक्सिको भने उपविजेता बनेको छ । सन् १९९८ को विश्व विजेता फ्रान्स सन् २००२ मा समूह चरणबाट बाहिरिएको थियो । सन् २००२ को विजेता ब्राजिल सन् २००६ मा फ्रान्ससँग पराजित हुँदै अन्तिम १६ बाट घर फर्कन बाध्य भएको थियो । सन् २००६ को च्याम्पियन इटाली सन् २०१० मा समूह चरणबाटै बाहिरिएको थियो भने सन् २०१० को विजेता स्पेनले ब्राजिलमा भएको विश्वकपमा समान नियति भोग्न बाध्य बन्यो । यसपटक साबिक विजेता जर्मनीले पनि आफ्नो नियति बदल्न सकेन र सोही नियति भोग्दै समूह चरणबाट बाहिरन बाध्य बनेको छ ।

https://www.youtube.com/watch?v=T0WU0ZLUj70

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?