विश्वकप २०१८, फ्रान्स र बेल्जियम पुगे टप ४ मा, ब्राजिल र उरुग्वे भए आउट
बेल्जियमसँग २–१ ले पराजित भएसँगै ब्राजिल रसियामा जारी विश्वकपबाट बाहिरिएको छ । शनिबार शनिबार सम्पन्न निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा ब्राजिलले सुरुमै गोल खान पुग्यो । खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्मघाती गोल गरेसँगै उत्साहित बनेको बेल्जियमका लागि ३१ औं मिनेटमा केभिनले गोल गर्दै टोलीलाई २–०को अवस्थामा पुर्याए । यस्तै खेलको ७६ औं मिनेटमा ब्राजिलका रेनातोले गोल फर्काएपछि खेल थप रोमाञ्चित बन्यो । त्यसपछि एकपछि अर्को गर्दै बेल्जियमको पोस्टमा ब्राजिलले बल प्रहार गरेपनि बलियो डिफेन्स बाधक बन्न पुग्यो र खेल २–१ मा टुंगिदै बेल्जियम बिजयी बन्न पुग्यो । अब बेल्जियमले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स उरुग्वेलाई २–०ले हराउँदै अन्तिम ४ मा पुगेको थियो । यसअघिको खेलमा फ्रान्सको जितमा खेलको ४० औं मिनेटमा राफेल वराने र ६१ औं मिनेटमा एन्टोनी ग्रिजमानले गोल गरे । उरुग्वेका खेलाडी रोड्रिगोले फ्रान्सेली खेलाडीलाई लडाएपछि उनलाई रेफ्रीले पहेलो कार्ड दिँए । योसँगै ३० यार्ड परबाट ग्रिजम्यानले हानेको फ्रिकिक बललाई राफेलले हेडमार्फत जाली चुमाए । उनको यो टीमका लागि तेस्रो अन्तराष्ट्रिय गोल हो भने जसमा ग्रिजम्यानले दुई ओटा पास मिलाइदिएका थिए । यस्तै ग्रिजम्यानले खेलको ६१ औं मिनेटमा अर्को गोल गरे । तोलिसोको पासमा ग्रिजम्यानले हानेको प्रहार उरुग्वेका किपरले रोक्ने प्रयास गरेपनि भुत्किँदै गोलमा परिणत हुन पुग्यो । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि फ्रान्स २–० ले विजयी हुन पुगेको हो । पराजित उरुग्वेले फ्रान्सको पोस्टमा ४ वटा टार्गेट सुट हानेपनि बलले गोलको दिशा दिन सकेन । यसो त फ्रान्सले पनि थप दुई टार्गेट सुट हानेको थियो । खेलमा उरुग्वेले ३८ र फ्रान्सले ६२ प्रतिशत बलको पोजिसन बनाउँदा दुबै तर्फ २–२ वटा हेल्लो कार्डको प्रयोग भएको थियो ।