बीएमडब्लु क्रिकेट कप मेलबर्नमा जारी, सुनाम गौतमले बनाए २०२ रनको कीर्तिमान
अष्ट्रेलियाको मेलबर्नमा जारी बीएमडब्लु क्रिकेट प्रतियोगिताको चौथो हप्ताका खेलहरु सम्पन्न भएका छन् । चौथो हप्ता आईतबार ३० सेप्टेम्बरमा भएको खेलमा नेपाली क्रिकेट स्टार सुनाम गौतमले आफ्नो क्लब एक्सपर्ट क्रिकेट टिमका लागि २०२ रनको कीर्तिमान बनाएका छन् । उनले आज मेलबर्न साईक्लेनविरद्धको खेलमा यो२०२ रनको कीर्तिमान बनाएका हुन् । बोइंग रिजर्भ स्ट्रेथमोरमा भएको खेलमा एक्सपर्टसँगै रोयल राइनोज र सगरमाथा क्रिकेट क्लब विजयी भएका छन् । रोयल राईनोजले नरें किंग्स क्रिकेट क्लबलाई हराएको थियो भने सगरमाथा क्रिकेट क्लबले गोर्खाली क्रिकेट क्लबलाई पराजित गर्न सफल भयो । २ सय २० रन बनाएका सुनम गौतम म्यान अफ दि म्याच पनि घोषित भए । गौतम एक्सपर्ट क्रिकेट क्लबका क्याप्टेन पनि हुन् । गत सेप्टेम्बर ९ देखि हरेक आईतबार खेलहरु भइरहेका छन् ।
प्रतियोगितामा ७ क्लबको सहभागिता छ । रोयल राईनोज क्रिकेट क्लब, द हिमालय क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, नारे किङ्स क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, मेलबर्न साईक्लोन क्रिकेट क्लबको सहभागिता रहेको प्रतियोगिता डेढ महिनासम्म चल्नेछ । प्रतियोगिताको विजेता टिमले नगद दुई हजार डलर पाउनेछन् । आयोजना रोयल राईनोज क्रिकेट क्लबले गरेको हो भने व्यवस्थापन भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले गरिरहेको छ ।