बंगबन्धु गोल्डकप : पेनाल्टीले डुबायो नेपाललाई, ताजिकिस्थानसँग दुई शून्यले पराजित


निकै उत्साहका साथ बंगलादेश पुगेको नेपाली फुटबल टोलीले पहिलो खेलमा हार व्यहोर्नु परेको छ । पेनाल्टीबाट अगाडि गएको ताजिकिस्थानसँग नेपाल दुई शून्य गोलले पराजित हुन पुगेको छ । बंगबन्धु गोल्डकपमा ताजिकिस्तानले नेपाललाई पराजित गरेको छ । खेलको २६ औं मिनेटमा पेनाल्टीबाट गोल गरेको ताजिकिस्तानले नेपालविरुद्ध १ गोलको अग्रता बनाएको थियो । यसपछि ७० मिनेटमा अर्को गोल गर्दै ताजिकिस्तानले विजय हासिल गरेको छ । नेपालका डिफेन्डर अनन्त तामाङले डिबक्सभित्र ताजिकिस्तानका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा गोल खाएपछि नेपाली टोलीले लगातार प्रयास गरेपनि गोल भने गर्न सकेन । उल्टो डिफेन्ड गर्न नसकेर दुई गोल खान पुगेको हो ।
खेलको दोस्रो मिनेटमा नै विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै नेपाललाई गोल खानबाट जोगाएका थिए । खेलको १४ औं मिनेटमा सुनिल बलले प्रहार गरेको कर्नर निराजन खड्काले गरेको हेड बल पोष्ट नजिकैबाट बाहिरिए पनि नेपाल अग्रता बनाउन चुकेको थियो । खेलको २० औं मिनेटमा ताजिकिस्तानले गरेको प्रहार विकेश कुथुले उत्कृष्ट बचाउ गरे । खेलको अन्तिम १५ मिनेटमा नेपालले निरन्तर ताजिकिस्तानका विरुद्ध दबाब बनाए पनि गोल भने गर्न सकेन । ताजिकिस्तानका खेलाडी पूरै फाउल खेल्न उत्रिएका थिए । यसक्रममा उनीहरुले पहेंलो कार्ड पनि पाए । ६ मिनेट थप समय पाएपनि नेपाली खेलाडीले जादू देखाउन सकेनन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?