आईतबारबाट रेनेगेड्स च्याम्पियन्स ट्रफी सुरु, उद्घाटन अघि नै टिम नेपालको खेल
रेनेगेड्स च्याम्पियन्स ट्रफी यो आईतबार २८ अक्टोबरबाट सुरु हुँदैछ । मेलबर्नमा रहेका विभिन्न क्रिकेट खेल्ने राष्ट्रका टोलीहरुबीचको यो प्रतियोगितामा नेपाली टिमको खेल आईतबार विहान ९ बजे हुँदैछ । सात टिम सहभागी रहेको प्रतियोगितामा टिम नेपालको नेतृत्व सुनम गौतमले गर्दैछन् । उनी क्याप्टेन रहेको टिम नेपालका अन्य सदस्यहरुमा किरण कँडेल, विकेश श्रेष्ठ, अविनास पौडेल, चाँद श्रेष्ठ, दिपेन रायमाझी, सुसन गुरुङ, रोशन पौडेल, कुशल तुलाधर, आशिष जिसी, निरज श्रेष्ठ, राजकुमार गुरुङ, रशिम कँडेल, नवीन डाँगी, सजेन्द्र श्रेष्ठ, सन्दोग दाहाल, सुनीत थापा, सुरज थापा रहेका छन् । नेपाल टिमको मेनेजर प्रयास सुवेदी हुन् भने कोच अशिम सुवेदी रहेका छन् । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी टिम नेपाल र टिम नेपालको जर्सी सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिको रुपमा भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन हुनुहुन्थ्यो । यस्तै अतिथिका रुपमा न्याभका अध्यक्ष तारा गैरे रहनुभएको थियो । कार्यक्रमपछि प्रतिक्रिया दिँदै टिमका क्याप्टेन सुनम गौतमले आईतबार हुने खेलमा धेरैभन्दा धेरै नेपाली समूदायको उपस्थित रहने आशा व्यक्त गरे । गौतमले भने, “हाम्रो हौसला बढाउन र हाम्रो समूदायको दरिलो उपस्थिति दिलाउनका लागि सबै भिक्टोरियावासी नेपाली आउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”टी २० फम्र्याटमा खेलाइने प्रतियोगितामा आफ्नो समूदायलाई प्रतिनिधित्व गर्दै नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत र अफगानिस्तानका टिमहरु सहभागी छन् । रेनेगेड्स सिईओ स्टुअर्ट कोभेन्ट्रीका अनुसार आईतबार नेपाल अष्ट्रेलियाको आदिवासी एबोरोजीनल एण्ड टोरेस स्ट्रेट आईल्याण्डर टिमसँग पार्कभिलको ¥यान्सफोर्ड ओभलमा भिड्नेछ । यस्तै ९ बजे नै बंगलादेशले भारतको सामना गर्नेछ भने अर्को खेलमा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ । १२ बजे उद्घाटन समारोह आयोजना गर्ने तयारी छ । आईतबार २८ अक्टोबरका दिन १ बजे भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने एक बजे नै एटीएसआईसँग पाकिस्तानको पनि खेल हुनेछ ।