बजार पाएन मादलले : साउन्ड सिस्टम, स्पीकर सस्तैमा पाएपछि मादलको मोह भंग


कुनै बेला थियो, मादल नबजी जात्रा लाग्दैन थियो । मादलको रन्कोले वल्लोपल्लो गाउँलेलाई जात्राको मेसो दिन्थ्यो । अझ वर्षदिनमा आउने देउसीभैलो त मादल नबजी हुने कुरै भएन । जोर मादलको रन्कोले देउसी भैलो हुनसम्म जम्थ्यो । मारुनी जोक्करले मादलको ताल र मजिराको छ्याइछ्याईमा मर्काएरको कम्मर र खुट्टाको चाल हेर्न गाउँभरिका आइरिन्थे ।

गाउँघरमा पनि अब मादल र मजिराको ताल सुन्न छाड्यो । मारुनी नाच त दुर्लभ नै भइसक्यो । यसो भन्दैमा देउसीभैलो हरायो भन्न खोजिएको होइन । तिहारमा देउसीभैलो पहिलाभन्दा बढी हुन्छ । तर साउन्ड सिस्टम र स्पिकरको आवाजमा । स्पिकर बजाएर देउसी भैलो खेल्छन् । मादल गीतार, खैजेडी र मजिराको ताल मिलाउँदै नाच्ने देउसीका गर्रा भेटिनै छाडे ।
सिद्धिचरण नगरपालिका २ ठूलाछापका लगने सार्कीकै कुराले यसलाई प्रस्ट्उँछ । ‘अब मादल बजाएर देउसी खेल्ने दिन गएजस्तो छ,’ उनले अनुभव सुनाए, ‘मादल किन्न आउने निकै कम भए । चाडबाडको बेलामा पनि बिक्दैन, अरु बेलाको त कुरै छाडौं ।’ पहिलापहिला तीजदेखि तिहारसम्मको अवधिमा ५ सयभन्दा बढी मादल बिकेको उनले बताए । दुई सालयता दशैं तिहारको सिजनमा समेत ५० वटा पनि बिक्दैन ।
‘पहिलेपहिले अर्डरको मादल बनाउनै भ्याइन्नथ्यो । गाउँमै किन्न आउनेदेखि विभिन्न ठाउँमा लाग्ने हाटबाट मादल बकेकोले चाड मनाउने खर्च टथ्र्यो,’ उनले भने, ‘अहिले बनाएको मादल बिक्दैन । पसलमै आउनेले पनि लाँदैनन् ।’
त्यसो त धादिङ घर भई काठमाडौंमा मादल बनाउने र मर्मत गर्दै आएका रामबहादुर सार्कीको भनाइ पनि लगनेको भन्दा फरक छैन । १४ वर्षको उमेरदेखि मादल बनाउने र बेच्ने गर्दै आएका उनी अब त काम गर्नै अल्छी लाग्न थालेको बताउँछन् । ‘पुरानो पेसा भएकाले मात्र यसो दशैंतिहारको बेला दुई चारवटा बनाउँछौं,’ उने भने, ‘अब के पेसा गर्ने भन्ने चिन्ता लाग्न थालेको छ ।’
मादलको व्यापार घट्नुको प्रमुख कारण प्रयोग नै घट्नु भएको उनीहरुको ठम्याइँ छ । ‘मेला, एकराते बजार, देउसी, भैलोमा मादल बजाउने क्रम घट्यो, रामबहादुरले भने, ‘गाउँघरमा पनि प्रायः अत्याधुनिक स्पीकर र साउण्ड सिस्टमको प्रयोग गरेर रमाइलो गर्न थालिएको छ ।’ एकातिर अत्याधुनिक प्रविधिले बजार खाएको छ भने अर्कोतिर मेहनतअनुसारको मूल्य पाउन छोड्दा मादल बनाउने कारिगार पनि पाउन छाडेका छन् ।
मादल बनाउनका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता काठ प्रयोग हुन्छ । गोरु र बाख्राको छाला प्रयोग गरेर बनाइने मादल काठ खोप्ने आधुनिक औजार तथा मेसिन अभावमा परम्परागत रुपमै छिनो र बसिलाले बनाउँदा श्रम महँगो धेरै समय लाग्छ । एउटा मादल बनाउनै झण्डै एक साता लाग्ने रामबहादुरले बताए ।
उनीहरुले नयाँ मादल  २५ सयदेखि ५ हजार रुपैयाँसम्मको बनाउने गरेका छन् । यो मूल्य भनेको ज्यालामात्र भएको उनीहरु बताउँछन् । यदि आधुनिक औजार र मेसिनहरुको प्रयोग गरी उद्योगको रुपमा सञ्चालन गर्न सके यो पेसामा रोजगारी सिर्जना गर्न सकिने स्थानीयको भनाइ छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?