सिड्नीमा जीएनसी कप फुटबल सुरु, २० वर्षको ईतिहासलाई डो-याउँदै २१ फुटबल क्लब
अष्ट्रेलियाको सबैभन्दा पुरानो नेपाली फुटबल लिग जीएनसी कप सिड्नीमा सुरु भएको छ । २१ वटा फुटबल क्लबको सहभागिता रहेको २० औं संस्करणको यो प्रतियोगिताको उद्घाटन खेल हिमालयन युथ क्लब र सेन्ट जर्ज फ्रेन्डस क्लबबीच भएको थियो । जसमा फ्रेन्ड्स क्लबले हिमालयन युथ क्लबलाई शून्यका विरुद्ध ७ गोलले पराजित गरेको थियो । यस्तै सुरुवातकै दिन भएका अन्य खेलमा सेन्ट जर्ज नेप्लीज क्लब, सगरमाथा फुटबल क्लब, बेनी फुटबल क्लब र सेन्ट जर्ज फ्रेन्डस फुटबल क्लब विजयी बन्दै अंक तालिकामा तीन तीनको अग्रता लिन सफल भए । प्रतियोगितामा फेवा फुटबल क्ल बर दि ब्रिगेड क्लब एक एक बराबरीमा, माछापुच्छ्रे फुटबल क्लब र वेष्ट युनाईटेड फुटबल क्लबले दुई दुई गोलको बराबरी खेलेर अंक बाँडेका थिए । प्रतियोगिताअघि आयोजना गरिएको उद्घाटन कार्यक्रममा अतिथिको रुपमा वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य सहभागी थिए । उनले लामो ईतिहास बोकेको गोर्खा नेप्लीज कम्युनिटी कप फुटबलमा सहभागी हुन पाउनु खुशीको कुरा भएको बताउँदै प्रतियोगिताले अष्ट्रेलियामा नेपालीको ईतिहासलाई समेत प्रतिबिम्बित गर्ने धारणा राखे । प्रतियोगितामा सिनियरतर्फ १२ टिम सहभागी छन् भने जुनियरतर्फ ९ टिमले सहभागिता जनाएका छन् । यस्तै भेट्रानतर्फका खेलहरु पनि आयोजना हुँदैछ । हरेक आईतबार प्रतियोगिताका खेलहरु हुनेछन् भने १६ सातामा फाईनल खेल आयोजना गरिनेछ । अष्ट्रेलियामा एजुकेशन र माईग्रेसनको क्षेत्रमा क्रियाशील पुरानो कन्सल्टेन्सी ओली एण्ड एशोसिएटसले यस पटकको जीएनसी फुटबल प्रतियोगितालाई प्रायोजन गरेको छ । एमएनटीभीसँग कुरा गर्दै ओली एण्ड एशोसिएट्सका विजनेस म्यानेजर अशोक ओलीले समूदायका लागि थोरै भएपनि योगदान दिन पाउनु खुशीको कुरा भएको बताए । उनी आफैं पनि फुटबल खेलाडी हुन् । ओली एण्ड एशोसिएट्सले नेप्लीज रिक्रियसन क्लबले आयोजना गरेको व्याडमिन्टन प्रतियोगिताको पनि मुख्य प्रायोजन गरेको छ ।