पीपीएल उपाधि पोखरा पल्टनलाई


Pokhara Paltan players and officials pose for a portrait after winning the Namaste Pokhara Premier League T20 cricket tournament in Pokhara on Tuesday, November 06, 2018. Courtesy: Chhumbi Lama

खेल पर्यटन पनि भित्र्याउने उद्देश्यसाथ पोखरामा पहिलोपटक सुरु गरिएको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टिम पोखरा पल्टनले हात पारेको छ । फाइनल खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधिमाथि कब्जा गरेको हो ।

स्थानीय पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा पोखरा पल्टनले रोमान्चक जित निकाल्दै पहिलो संस्करणको उपाधि जितेको छ । उसलाई चितवनले दिएको १६१ रनको लक्ष्य १९.२ ओभरमा ७ विकेट गुमाउँदै जित हासिल गरेको थियो ।
खेलमाा पोखराका लागि भारतीय खेलाडी रविइन्दर सिंहले ५८ बलमा ९० रन जोडेका थिए । त्यस्तै उनलाई साथ दिएका यूएईका मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । कप्तान शरद भेष्वाकरले २२ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाई १६० रन बनाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले ३७ बलमा ५१ रन बनाए ।
उनलाई साथ दिएका भारतीय खेलाडी सन्नी पटेलले २१ बलमा ४३ रन जोडे । ओपनर अनिकुमार साहले ३७ रन बनाउँदै कप्तान पारससँग मिलेर इनिङ संहालेका थिए ।
करिब २ साताअघि सुरु भएको पीपीएलमा बिराटनगर, काठमाडौं, चितवन, पोखरा, बुटवल र धनगढीका ६ टीमको सहभागिता रहेको थियो । यो प्रतियोगिता क्रिकेट खेलका लागि अहिलेसम्मकै सर्वाधिक राशि पुरस्कारको हो । जसमा पहिलो भई पोखराले २७ लाख र दोस्रो भई चितवनले १० लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?