निर्मला हत्याकाण्डमा एक व्यक्ति काठमाडौंमा समातिए


बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा संलग्नको लामो सयमसम्म अभियुक्त पत्ता नलागेको विरोधमा विभिन्न खाले आन्दोलन भइरहेका छन् । धर्ना दिँदादिँदै निर्मलाका बाबु बिरामी भएपछि अहिले काठमाडौंमा उपचाररत छन् ।
पन्त परिवार काठमाडौंमा उपचारमा रहे पनि विभिन्न व्यक्ति र संस्थाले ‘सरकार भेटियो, न्याय भेटिएनजस्ता पोस्टरिङ गर्ने, सडकमै सुत्ने, टर्च लाइट दिउँसै बालेर न्याय खोज्ने’ जस्ता कार्यक्रम चलाइ रहेका छन् । तर यही बेला प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बुधबार काठमाडौँंबाट एक व्यक्तिलाई समातेको छ ।


महाराजगञ्जस्थित सीआईबी कार्यालयले बुधबार समातिएका भीमदत्त नगरपालिका १८ का प्रदीप रावलसित अहिले बयान लिइरहेको छ । रावल यसअघि पन्तको शव भेटिएकै भोलिपल्ट देखि भारततिर लागेका थिए । पछिल्लो समय उनलाई काठमाडौंमा देखिएपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमै राखिएको छ ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरीले उनलाई म्याद थप गरेर अनुसन्धान थालेको छ । पहिले सबै जाँच÷अनुसन्धान सकेरमात्रै रावलबारे बताइने प्रहरीको भनाइ छ । पहिला विस्तृत अनुसन्धान नगरिकन दिलिपसिंह विष्टलाई सार्वजनिक गर्दा प्रहरीलाई समस्या परेको थियो ।
सीआईबी ब्यूरोले बुधबार साँझ आईजीपी सर्वेन्द्र खनाललाई रावलबारे बिफ्रिङ गरेपछि आफैं पनि ब्यूरो पुगेर अबेरसम्म बयानमा बसेका थिए । खनालले त्यहाँ पनि आफ्ना विश्वासिला अधिकृतलाई राखेका छन् । र बिहीबार बिहीबार बिहानै बाट रावलको बयान थालिएको छ ।
लामो अध्ययन अनुसन्धान गरिसके पनि अहिलेसम्म घटनाका महत्वपूर्ण ‘क्लू’ हात परिनसकेको प्रहरी स्रोतको भनाइ छ । घटनामा उनको संलग्नता आशंकामा डीएनए परीक्षणका लागि पठाइसकेको छ । तर नतिजा आइसकेकोछैन । त्यसो त काठमाडौंमा एक व्यक्ति समातेर अनुसन्धान भइरहे पनि अनुसन्धानका लागि कञ्चनपुरमा समेत विभिन्न टोली सक्रिय छ । सीआईबीका एसपी उमाप्रसाद चर्तुवेदी यतिबेला कञ्चनपुरमै छन् । त्यहाँको टोलीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको स्रोतले बतायो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?