शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा


विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र काठमाडौं किंग्स–११ आमनसामन हुँदै

 

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मंसिर २१ गते शनिबारबाट कीर्तिपुर त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताका लागि ६ वटै फ्रेन्चाइजी टोली तयार अवस्थामा छन् ।
टी–२० क्रिकेट प्रतियोगिताको आयोजक ईपीएल प्रालिले तयारी अन्तिम चरणमा गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाएको हो । बिहीबारकै उक्त कार्यक्रममा ईपीएलको ट्रफी भने सार्वजनिक गरिएको छ । तर आयोजक संस्थाले प्रतियोगिताका पुरस्कृत टिमले पाउने पुरस्कार राशिबारे भने अहिलेसम्म कतै पनि जनाएको छैन ।


नेपालमा हुने यस्ता प्रतियोगिताहरुका अघिल्ला संस्करणमा नेपाली खेलाडीका अलवा खासगरी भारत, हङकङ, यूएईका खेलाडी आउने भए पनि यसपटक दक्षिण अफ्रिकी, आइरिस, डच र इंग्लिस खेलाडी पनि अनुबन्ध भइसकेका छन् । अझ रमाइलो पक्ष के छ भने यस पटकको संस्करणमा भारतको प्रतिष्ठित आईपीएल क्रिकेट खेलेका खेलाडीसमेत ईपीएलमा सहभागी भएका छन् ।
ईपीएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तर र साबिक विजेता विराटनगर वारियर्सका मालिक विशाल अग्रवालले बिहीबार ट्रफी सार्वजनिक गरेको कार्यक्रममा उपस्थित सबै टिमका कप्तानले ट्रफीमा आ–आफ्नो दाबीसमेत पेश गरेका थिए । अघिल्ला संस्करणको तुलनामा यसपटक बढी रोचक र मनोरन्जनात्मकसमेत उनले सहभागी कप्तानहरुको भनाइ थियो । उनीहरुको भनाइमा स्तरीय विदेशी खेलाडी, मैदान, चियरलिडर्सको रौनक, पुरस्कार राशिले पनि यो ईपीएल फरक हुने छ ।


कुन टिमको कसले नेतृत्व गर्दै छ ?
विराटनगर वारियर्स – पारस खड्का
ललितपुर प्याट्रियट्स – ज्ञानेन्द्र मल्ल
काठमाडौं किंग्स–११ – सोमपाल कामी
भैरहवा ग्ल्याडियटर्स – शरद भेषावकर
पोखरा राइनोज – कायल कोएट्जर
चितवन टाइगर्स – पृथु बाँस्कोटा

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?