नेपालले भारतलाई १५ मेघावाट बिजुली बेच्ने
सधैं भारतसित विद्युत् किन्दै आएको नेपालले अब भने बेच्ने भएको छ । त्यो पनि भारतकै एक कम्पनीलाई । भारतीय एनटीपसी विद्युत् व्यापार निगम (एनभीभीएन) ले दीर्घकालीन रुपमा नेपालसँग १५ सय मेगावाट विजुली किन्ने प्रस्ताव गरेसँगै नेपाली बिजुलीले बजार पाउने निश्चित भएको हो ।
अब भने नेपालले जति नै बिजुली उत्पादन गरेको पनि बजार समस्या हुने छैन । भारत सरकारको स्वामित्व भएको उक्त कम्पनीको प्रस्तावपछि ऊर्जामन्त्री वर्षमान पुनले नेपालको उत्पादनलाई बजार अभाव नहुने बताएका छन् ।
त्यसो त नेपालले अहिलेसम्म नपुग बिजुली भारतीय त्यही कम्पनीसित किन्दै आएको छ । एनभीभीएनले माथिल्लो कर्णालीबाट उत्पादित ५ सय मेगावाट विजुली नेपालसित किनेर बंगलादेश पठाउन खोजेको स्रोतले जनाएको छ ।
उसले नेपालले यसपछि उत्पादन गर्ने विजुली पनि किन्ने इच्छा देखाएको छ । मन्त्री पुनले भारतले ल्याएको नयाँ विद्युत् आयात–निर्यात निर्देशिकाले बंगलादेशसँग पनि बिजुली बेच्ने बाटो खुलेको बताए ।
बंगलादेश पनि नेपालबाट विजुली किन्न तयार रहेको भन्दै अब त्यता पनि जोडिने गरी प्रसारणलाइन निर्माण गर्ने उनले सुनाए ।
मन्त्री पुनले माथिल्लो कर्णालीको बिजुली किन्ने प्रस्ताव बंगलादेशको मन्त्रिपरिषदमा पुगिसकेको जानकारी दिँदै यस्ता कदमले नेपालमा जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन सहयोग पुग्ने बताए । माथिल्लो तामाकोशीबाट विजुली उत्पादन सुरु भएपछि भारतमा बिजुली बेच्न सकिने अवस्था आउने सरकारको दावी छ ।