मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक लिग बिजेता
२ खेलअघि नै उपाधि कब्जा
लामो समयदेखि रोकिएको शहीद स्मारक ए डिभिजन लिग २०७५ मनाङ मस्र्याङ्दी क्लबले दुई खेलअघि नै जितेको छ । लिगमा कुल १३ खेल खेलाइने भए पनि ११ खेलबाट ३३ अंक जोडेर मनाङले लिगमा आधिपत्य जमाएको हो ।
११ औं चरणसम्म आइपुग्दा मनाङलाई पच्छ्याउने संकटाको २५ अंकमात्र छ । ऊ हालसम्म लिगको दोस्रो स्थानमा रहेको छ । यस अर्थमा पनि अबको दुवै खेल जित्दा पनि उसको ३१ अंकमात्र हुन्छ । यस्तै १० खेल खेलेको थ्रीस्टारको २३ अंक रहँदा चौथो स्थानमा रहेको आर्मीको १८ अंकमात्र छ । उनीहरुले तीनै खेल जित्दा पनि मनाङलाई नभेट्ने भएकाले आजै विजेता घोषणा गरिएको हो ।
लिगको ११ औं चरणको खेलमा बिहीबार ललितपुर सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा मनाङले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै आफूलाई उत्कृष्ट टिम घोषित गरेको छ । यसपछिका दुबै खेलमा मनाङले पराजय भोग्नु परे पनि उपाधि समीकरणमा कुनै फरक पर्दैन ।
त्यसो त यसपटकको लिगमा मनाङले उपाधिमात्रै जितेन, इतिहाससमेत कायम गरेको छ । उसले लगातार ११ औं खेल जितेर नयाँ इतिहास कायम गरेको छ । ११ खेलसम्म मनाङले पराजय भोग्नु परेन । नत बराबरी नै ग¥यो । सबैमा शतप्रतिशत जित निकालेको छ ।
घरेलु लिगमा मनाङको यो उपाधि यात्रा आठौं हो । उसले यसअघि २०४३, ०४४, ०४६, ०५७, ०६०, ०६२ र ०७० मा उपाधिमाथि कब्जा जमाएको छ ।
बिहीबारको ११ औं चरणको खेलमा संकटाले मनाङलाई रोक्न सकेको भए उसको उपाधि यात्रामा प्रतिस्पर्धा कायमै रहन्थ्यो । त्यसो त संकटासँगै थ्रीस्टारको पनि बाटो खुल्ने थियो । तर मनाङले संकटाविरुद्ध सहज जित निकाल्दै विजयी भएको छ ।
मनाङले लिगमा अझै दुई खेल खेल्न बाँकी छ । अब दोस्रो र तेस्रो स्थानका लागि थ्रीस्टार, संकटा र आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।