मेलबर्नपछि सिड्नीमा आज एक्सपर्टको क्रिकेट फेष्टिभल
अष्ट्रेलियाको चार शहरमा क्रिकेट फेष्टिभल गर्ने क्रममा एक्सपर्ट ग्रुपले आज आईतबार सिड्नीमा कार्यक्रम गर्दैछ । बालबालिका, युवा र महिलाहरुलाई छुट्टा छुट्टै क्रिकेट तालिमको व्यवस्था गरिएको यस एक्सपर्ट क्रिकेट फेष्टिभलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, अन्डर १९ राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान दिपेन्द्र ऐरी र सुवास प्रधानले आफ्नो अनुभव शेयर गर्नेछन् । यसै विषयमा शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरियो । सिड्नीको एक्सपर्ट मुख्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एक्सपर्ट ग्रुपका सिईओ सञ्जीव शर्माले क्रिकेट महोत्सवको माध्यमबाट अष्ट्रेलिया र नेपालको क्रिकेट र क्रिकेटरहरुको प्रबद्र्धन गर्न तल्लीन रहेको बताए । नेपालमा विद्यालयस्तरीय क्रिकेट तालिम र प्रतियोगिता सञ्चालन गरेको एक्स्पर्टले छुट्टै टिम धनगढी ब्लीजको समेत स्थापना गरेको छ । कार्यक्रममा बोलदै एक्सपर्टका अर्का निर्देशक बद्री अर्यालले निस्वार्थ भावनाले आफुहरु खेलको माध्यमबाट देशसेवामा लागेको बताए । नेपाली राष्ट्रिय कप्तान पारस खड्काले मेबलर्नको फेष्टिभल सफलतापूर्वक सकिएको र सिड्नीमा पनि अझ भव्य बन्ने आशा व्यक्त गरे । उनले सहभागी हुन सिड्नीवासी क्रिकेटप्रेमीहरुलाई आग्रह गरेका छन् ।