हजुरबाको नातीलाई चिठी
नाती,
मन खुसी बनाईस बा आज,
खोलाले बगर छोडेर उर्लेपनी आखिरीमा सागर पुग्दा,
हिर्काएरै गए पनि,
बगर खुसी हुन्छ भन्छन,
बुडो ज्यान बगरै सरी भए नी सहि,
तन खुसी बनाईस बावै आज।
हान्न त तेरा बा आमाले हिर्काएर छोडेकै हुन,
हाम्लाई छोडेर काखमा तंलाई च्यापेर हिडेकै हुन,
घरको मुल खाँबो सरेर जग हल्लेपछि,
छानो चुहिन बेर नलाग्दो रच,
एकाविहानै काखैबाट गएको नाती,
तेरा बाआमालाई हल्लाएका हातले,
कसरी भात खाए हुनन तो बेला,
मन कसरी अडियो होला र,
हिड्ने बेला तेरा बा को निधार परेका यी गोडा,
कति लडे हुनन, ठेस लाए हुनन्
यै दिन देख्न सबै सहेरै हिडीयो,
आज क्याम्पस पढ्ने भैचस राजा,
मन हर्षले हर्लक्क बढेको छ।
संसार जितेस भोली भोली।
नाती,
जिन्दगी लामो छ वावु,
तैले
भात ह्वाँ को खाए नि तागत ह्याँ को आउछ।
लुगा ह्वाँ का लाए नी तातो ह्याँ को आउछ।
भाषा ह्वाँ को बोले नी स्वर ह्याँ को सुनिन्छ।
ठेस ह्वाँ लागे नी पिडा र रुवाई ह्याँ गुन्जिन्छ।
पढाई ह्वाँ को पढे नी दिमाग ह्याँ को चम्किन्छ।
जहाँ गए नी जता रहे नी जे भए नी
बा को कुरो सुन्नु, आमाको कुरो मान्नु।
लेख्या डिग्री भन्दा रगतको डिग्री ठुलो हुन्छ,
संसार जितेस वावु तर बाआमा नजितेस।
तिमेरुले परदेस ताकेसी घरमा दशैं आएन
तेरा फुपु दिदीको रातो तिज आएन,
जनैपुर्नेमा जनै लाऊदा पासो लाएजस्तो,
साऊने खिर, माघे खिचडी विषै खाएजस्तो,
मखमली ओईलिएर तिहार सधै फिक्का फिक्का,
यति भोग्न लेख्या रैछ नाती
तेरो खबर सुनेसी उडौं की झै भा’छ।
अझै काटीरहनु भोटेताल्चा ठोकेका परिक्षाहरु
र पनि बावु,
अरु नसम्झे नी दशैं सम्झेस,
तँ नभएको आगनको पिँग
अझै हल्लिरहन्छ मेरा मनका खाल्टाहरुमा
तिहारको टिको लाएस, नओईलिएको मखमली गलामा हाल्दा हाँसो फक्रिन्छ।
तिजमा नाचेका चेलीलाई ‘छि’ नभनेस।
म छदै आईस भने एकचोटी,
तँ र म गंगा नुहाऊन जाम्ला बावै,
तेरी बुढी आमाले लिएको स्वस्थानी ब्रतको प्रसाद,
तेरा बा लाई भन्दा तँलाई खुवाऊन मन गरिछे।
तेरा प्रगतिका शिखर अग्लिईरहुन,
जहा जान्छस, नेपाली भएस।
नेपाल चिनाएस।
नाती
अबको तेरो बाटो फराकिलो होस।