एनसेलको मुख्यालयमा बम विस्फोट गराएर एकजनाको हत्या गर्ने कार्यमा संलग्न चार जना पक्राउ


काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको हो । उनीहरुले एक जनााको मृत्यु र दुई जना घाइते हुने गरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए । सोही समूहले गत फागुन २४ गते तीन जना घाइते हुने गरी काठमाडौँको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोटन गराएको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिनुभयो । 

विक र राईलाई काठमाडौँबाट तथा धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ गरिएको हो । काभ्रेमा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा मङ्गलबार सोही गाउँपालिका–२ काफलडाँडाबाट धिमाल र तामाङलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीमाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड गोली फायर गरेको ढकालले बताउनुुभयो । घटनास्थलबाट विभिन्न कम्पनीको ६ थान मोबाइल, चार्जर, पिलास र विभिन्न पुस्तक बरामद गरिएको छ । महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरी नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?