जीएनसी कप फुटबलको उपाधि बेनी फुटबल क्लबलाई, तेश्रो स्थानको खेल कुटाकुटपछि रद्द


२० वर्ष लामो ईतिहास बोकेको गोर्खा नेप्लीज क्लब कप फुटबल प्रतियोगिताको उपाधि बेनी फुटबल क्लबले जितेको छ । प्रतिस्पर्धात्मक खेलमा चारका विरुद्ध ७ गोलले माछापुच्छ्रे फुटबल क्लबलाई पराजित गर्दै बेनीले उपाधिमाथि कब्जा गरेको हो । निर्धारित समयमा चार चार गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा बेनी फुटबल क्लबले तीन गोल थपेको थियो ।
यसअघि तेश्रो स्थानका लागि भएको खेल खेलाडीबीचको झगडाका कारण स्थगित भएको थियो । तेश्रो स्थानमा सेन्ट जर्ज नेप्लीज क्लब र सगरमाथा फुटबल क्लबबीच भएको थियो । फउल खेल्दै एकअर्काविरुद्ध जाइलागेपछि रेफ्रीले दुबै टिमका एक एक जनालाई पहेंलो कार्ड देखाएको थियो । तर, यस लगत्तै मैदान बाहिर भएका व्यक्तिसँग बादविवाद गर्दै खेलाडीहरु पनि मैदान बाहिर गएपछि खेल रद्द भएको थियो ।
यसपछिको पुरस्कार वितरण समारोहमा बोल्दै गोर्खा नेप्लीज कम्युनिटीका जितमान लिम्बुले २७ टिमको करिब पाँच महिना लामो लिग खेल सबैको साथ र सहयोग विना सम्भव नभएको धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि लिडकम्ब सिटी काउन्सिलका उपमेयर ग्यालेनले खेलको माध्यमबाट जीएनसीले समूदायमा खेलेको भूमिका निकै अविस्मरणीय रहेको बताएका थिए । कार्यक्रममा प्रमुख प्रायोजक ओली एण्ड एशोसिएट्सका प्रिन्सिपल भवानी ओलीले फाईनल खेल वास्तवमै प्रतिस्पर्धात्मक भएको धारणा राखे । उनले काम, पढाईका बाबजुद पनि यस किसिमको उत्कष्ट खेल देखाउनु खेलाडीहरुको सफलता भएको धारणा राखेका थिए ।
अर्कोतर्फ, ३५ वर्षभन्दा माथि उमेर समूहको भेट्रान्स खेलमा माछापुच्छ्रे क्लबले उपाधिमाथि कब्जा गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?