शनिबारदेखि न्याभ मल्टिकल्चरल कप क्रिकेट प्रतियोगिता हुँदै, पाँच टिमको सहभागिता
भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको आयोजनामा मेलबर्नमा तेश्रो न्याभ मल्टिकल्चरल कप क्रिकेट प्रतियोगिता हुने भएको छ । ३० मार्चबाट सुरु हुने यो प्रतियोगिता ७ अप्रिलमा सम्पन्न हुनेछ । बुधबार स्थानीय बिग बेली एशियन क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा न्याभका खेल संयोजक प्रेमराज उप्रेतिले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । उनले श्रीलंकाको तमिल वारियर्स, अफगानिस्तानी समूदायको अल नेशन्स सहित तीन नेपाली टोली सहभागी हुने बताए । जसमा न्याभ कप क्रिकेटको विजेता नारे किङ्स, उपविजेता रोयल राइनोज र एक्सपर्ट क्रिकेट क्लब सहभागी हुनेछन् । प्रेस्टनमा रहेको टीडब्लू ब्लेक पार्कमा प्रतियोगिता आयोजना गरिनेछ भने यसको मुख्य प्रायोजन ग्रेस ईन्टरनेशनल रहेको छ । पत्रकार सम्मेलनमा ग्रेसका निर्देशक रामचन्द्र पौडेल पनि सहभागी भएका थिए । उक्त अवसरमा न्याभका पूर्वअध्यक्ष डा. अनुपम पोखरेललाई मल्टिकल्चरल क्रिकेटको ब्रान्ड एम्बेसडर तोकिएको जानकारी समेत दिइयो । ६ टिमको सहभागिता निश्चित भएपनि अन्तिम समयमा पाकिस्तानी टिम नआउने बताइएको थियो ।