थाईल्याण्डमा बसी विभिन्न देशमा मानव तस्करी गर्ने झापाका पर्शुराम गुरुङ पक्राउ, गैरकानूनी बसोबास खुल्यो


वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्याण्डमा पक्राउ परेका छन् । रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिइ करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो । उनले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभन दिइ विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको भन्दै राजदूतावासमा उजुरी परेको थियो । फरार गुरुङमाथि नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ पूर्जीसमेत जारी गरेको थियो ।

उनलाई आज थाईलैण्डको प्रहरीले नेपाली राजदूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । थाइल्याण्डमा वैध राहदानी र विनाप्रवेशाज्ञा गैरकानूनीरुपमा बसेको अपराधमा समेत त्यहाँको सरकारले गुरुङमाथि अनुसन्धान र कारवाही भइरहेको जनाइएको छ । नेपाल र थाइल्याण्डको वर्तमान कानून तथा पारस्परिक सहयोगका आधारमा उनीमाथि कारवाही अघि बढाइने बताइएको छ ।
–––

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?