नक्कली माईगभ एकाउन्टको ईमेलबाट सावधान हुन ट्याक्स अफिसको अपील !


अष्ट्रेलियाको ट्याक्स अफिस एटीओले हरेक व्यक्तिको महत्वपूर्ण जानकारी समेटिएको सरकारी अभिलेख प्रणाली अर्थात् माईगभकै जस्तो देखिनेगरी विभिन्न ईमेलहरुमार्फत ठगी भइरहेको प्रति सचेत रहन सबै सर्वसाधारणलाई आग्रह गरेको छ । कर फिर्ताका लागि भन्दै फर्म भर्न लगाउने र यसैमार्फत कुनैपनि व्यक्तिको निजी सुचनाहरु चोरी गर्ने गिरोह सक्रिय रहेको पनि उसले सचेत गराएको छ । एटीओले यस्तो ईमेललाई नखोल्न भनेको छ । माईगभ लोगो अनधिकृत रुपमा प्रयोग गर्दै सर्वसाधारणको सम्पत्ति लुट्ने यी अपराधीहरुको उद्देश्य रहेको पनि उसले जनाएको छ । यस्तो ईमेललाई पहिचान गर्न सजिलो रहेको भन्दै ठगीबाट जोगिन एटीओले अपिल गरेको हो । दिइएको लिंकमा क्लीक गरेको अवस्थामा यसले (my.gov.au) माई.गभ..एयू मा लैजाँदैन । यस्तै ईमेल पठाइएका व्यक्तिको नाम पनि यसमा सम्बोधन गरिएको हुन्न । सबैलाई एकै खालको ईमेल यसले पठाएको हुन्छ । झुक्किएर एटीओको फर्म भन्दै त्यसलाई भर्न थालेमा यसले महत्वपूर्ण व्यक्तिगत जानकारी चोरी गर्ने र त्यसलाई दुरुपयोग गर्ने खतरा कायम रहन्छ ।  फेरि अष्ट्रेलियामा ट्याक्स रिटर्न गर्ने समय १ जुलाईदेखि ३१ अक्टोबरसम्म हो । अष्ट्रेलियामा सरकारी संस्थाको वेवसाईटमा डट गभ डट एयू (.gov.au) रहने गरेको छ । यो डोमेनलाई पनि हेर्न अपील गरिएको हो । यस्तो हुन्छ नक्कली ईमेल

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?