सात सय बढी अभिभावकको भेला एकै ठाउँमा, यस्तो भयो फित्सरोय फल्समा घन्किएको नेपालीपनको झंकार
एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य संयोजन समिति र एनआरएन क्यानबेराको आयोजनामा अभिभावक भेला २०१९ सम्पन्न भएको छ । सिड्नी र क्यानबेराका ७ सय भन्दा बढी अभिभावकहरु यस भेलामा सहभागी भए । सिड्नी र क्यान्बेरा को बिचमा पर्ने रमणिय फित्सरोय फल्स पिक्निक स्थलमा भेला भएका अभिभावकहरुले यो अभूतपूर्व कार्यका लागि एनआरएनलाई धन्यवाद दिएका छन् । हरेक वर्ष आयोजना गरिने यो अभिभावक पिकनिकको चौथो संस्करण हो । यस पटक सिड्नीमा काम विशेषले आएका नेपाली अभिभावकमात्र होइन अष्ट्रेलियाको राजधानी क्यानबेराका अभिभावक पनि सहभागी हुँदा माहोल अझ रोमाञ्चक बन्न पुग्यो । नेपालमै भेट नभएका साथीभाई पनि अष्ट्रेलिया आएर भेट्न पाएको कतिपय अभिभावकहरुको प्रतिक्रिया थियो । यस कार्यक्रमका संयोजक दिल तामाङले अभिभावकहरुको मुहारमा देखिएको खुशी नै आफुहरुको सफलता भएको बताए । एमएनटीभीसँग कुरा गर्दै उनले भने, अभिभावकहरुको मनोरञ्जन आफ्नो ठाउँमा थियो भने कार्यक्रममा उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।
औपचारिक कार्यक्रममा एनआरएन अष्ट्रेलियाका उपाध्य्क्ष नन्द गुरुङ, संंरक्षक इन्द्रा बन, अर्का उपाध्यक्ष राजन ढुङ्गेल लगायतले सम्बोधन गरेका थिए ।
अभिभावकहरुलाई एनआरएन न्यूसाउथवेल्सका उपसंयोजक अर्जुन केसीले स्वागत गरे । अभिभावकहरुको सम्मान र उहाँहरुको आशिर्वाद प्राप्त गर्न एनआरएन लागिपर्ने केसीको भनाई थियो । केसीले भने, उहाँहरुको अष्ट्रेलिया बसाई सुखद होस् । नेपाल मिस नहोस् भनेर पनि हामीले यस्ता कार्यलाई निरन्तरता दिइरहेका छौं ।
कार्यक्रममा बोल्दै उपसभापति नन्द गुरुङले अभिभावक पिक्निकको ईतिहासलाई स्मरण गर्दै एनआरएन अष्ट्रेलियाले गरिरहेका कामको बारेमा जानकारी गराएका थिए ।
उक्त अवसरमा अभिभावकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने विभिन्न गीत संगीतको तालमा नाचगान र राफल चिठ्ठाको व्यवस्था गरिएको थियो । उक्त अवसरमा अभिभावकहरुले गीत, कविता समेत प्रस्तुत गरेका थिए । अष्ट्रेलियाबाट सुरु भएको अभिभावकहरुको भेलाको यो श्रृंखला यतिबेला विश्वका अन्य देशहरुमा पनि फैलिसकेको छ । एकै पटक ७ सय भन्दा बढी अभिभावक भेला भएको यो बृहद कार्यक्रम सफल बनाउनका लागि निकै ठूलो टिम खटिएको थियो भने सिड्नीका विभिन्न सबअर्बहरुबाट उनीहरुलाई कार्यक्रमस्थलसम्म लैजाने र फिर्ता ल्याउने कार्यका लागि उनीहरु लागेका थिए ।